असार २२, २०८२ आइतबार July 6, 2025

‘एक व्यक्ति, एक पद’को नीति लागु गर्नुपर्छ- अष्टलक्ष्मी शाक्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिपक्षले त प्रधानमन्त्रीले शासन गर्ने अधिकार गुमाए भनेको छ, तपाईहरुको भनाइ पनि त्यही हो ?

संसद अधिवेशन चलेको बेला सांसद्हरुले धारणा राख्न पाउँछन् । त्यसमा छलफल सुरु भएको छैन, त्यो पनि होला । हामी सत्तापक्ष भएकाले प्रधानमन्त्री, अध्यक्ष कमरेडहरुलगायत सबैले प्रतिपक्षदेखि सांसदहरुको आवाज सुन्नुपर्छ ।

बीस जना स्थायी समिति सदस्यहरुको दृष्टिकोण के हो ?

अस्ति हामीलाई स्थायी कमिटिको बैठक बस्ने भनेर बोलाइएको थियो । त्यो बैठक थाहै नदिइकन स्थगित गरियो । त्यस्तो गर्न नहुने हो । एक त हामीले निवेदन दिएको पनि धेरै दिन भइसक्यो । यो अत्यन्तै महत्वपूर्ण विषयलाई समेटेर हस्ताक्षर गरेर दिइएको निवेदन हो । त्यो दुईवटा विषयलाई उठान गरेर दिइएको निवेदन थियो । पहिलो कोरोना भाइरसको महामारीको सामन गर्न कसरी जाँदै हुनुहुृन्छ ? त्यसको दूरदर्शी भएर पछिको तयारी कसरी गरिँदैछ ? यी यावत कुराको पार्टीमा छलफल छैन त्यसैले त्यसमा छलफल गर्नुपर्यो भन्ने छ । दोस्रो मुलुक कोरोना भाइरसको कारण प्रताडित भइरहेको, जसको कारण मुलुक लकडाउन भएको बेलामा दुईवटा अध्यादेश किन ल्याउनुभयो ? त्यो पनि लोकतन्त्र, गणतन्त्र र संविधानलाई कुल्चिएर । यी विषयमा अत्यन्तै गम्भीर रुपले पार्टीभित्र छलफल गर्नुपर्यो भनेर बीच जनाले संयुक्त हस्ताक्षर गरेर निवेदन दिएको हो । तर, प्रधानमन्त्रीले भने हाम्रा कुरालाई वास्तै गर्नुभएन । त्यसपछि सचिवालयले राखेको बैठकमा एक्कासी स्थगित भनेर हिड्नुभयो ।

उहाँ त यो देशको प्रधानमन्त्री, पार्टीको अध्यक्ष हो । त्यसैले स्थायी कमिटिको बैठक राखेर सदस्यहरुले राखेको कुरा सुनिदिनुपथ्र्यो । उहाँले त्यो सुन्ने आँट र हिम्मत गर्नुभएन । बैठकमा आएर अरुका सुन्नुपथ्यो, आफ्ना भनाइ पनि राख्नुपथ्र्यो । बैठकै नराखी, कुरै नसुनी कति दिन भाग्नुहुन्छ । यस्तो शैलीले लोकतन्त्रको विकास हुँदैन । यो शैलीले त पार्टीभित्र झन् द्वन्द्व बढाउँछ । लोकतन्त्र भन्नेको त जतिसुकै तीतो लागेपनि अरुका कुरा सुन्ने र आफ्ना पनि राख्ने व्यवस्था हो ।

प्रधानमन्त्रीले स्थायी समिति बैठक आवश्यकै छैन भन्नुभयो नि ?

स्थायी समितिको बैठक जस्तो कुरा आवश्यक छैन भन्न मिल्छ ? हामीले निवेदन दिएको पनि १७, १८ दिन भइसक्यो । हामीले निवेदन दिइसकेपछि अधिवेशन बोलाउनुभएको हो । सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटिमा छलफल गरेर जानुभएको उहाँलाई संसदमा भन्न पनि सजिलो हुन्थ्यो । पार्टीभित्र छलफल नगरिकन गएर कसरी उहाँले संसद्मा राख्न सक्नुहुन्छ ? त्यो भनेर हामीले स्थायी समितिमा छलफल गर्न खोजेका हौं । हामीले उठाउन खोजेका विषय अधिवेशकै बारेमा थियो ।

दुई अध्यक्ष छलफल गरेर कामहरु भइरहेको अनि तपाईंहरुसँग बैठक बस्नुपर्ने आवश्यक छ ?

पार्टीभित्र एउटा सिस्टम छ । त्यसमा टेकेर सामुहिक ढंगले छलफल गर्नुपर्छ । उहाँहरु दुई जना बस्ने अनि हामीले यसो ग¥यौ, उसो गर्यौ भन्दा सबै कुरा हुन्छ भने पार्टी कमिटिको के त्यसलाई भंग गरिदिउन त । स्थायी कमिटिको नेताहरु धेरै अनुभवले धनी हुनुहुन्छ । उहाहरुले धेरै दुःख, कष्ट, त्याग, तपस्या, आन्दोलन गरेरै आउनुभएको हो । उहाँहरुको कुरै नसुन्ने यस्तो पनि तरिका हुन्छ ? बैठकै नबसाउने, कुरै नसुन्न गरी अपमान त गर्नुहुँदैन ।

तपाईंहरुको बीसजनाको समूह पनि किन विभाजित हुनुभयो ?

यहाँनेर कतिजना भयो भन्ने कुरा बेग्दै हो । पार्टीभित्र फरकमत राख्ने एकजनाको पनि कुरा सुन्नुपर्छ अभिभावकले । लोकतन्त्रमा एउटा व्यक्तिको विचार पनि महत्वपूर्ण हुन्छ । कतिजनाले विरोध गरे भनेर संख्यामा तुलना गर्ने होइन । नेतृत्वसँग विचार, दृष्टिकोण र आलोचना पनि सुन्न सक्ने क्षमता र धैर्यता हुनुपर्छ ।

तपाईंहरुले बेमौसमी बाजा बताउनुभयो भन्ने आरोप छ नि प्रधानमन्त्रीको त ?

हामीले त प्रधानमन्त्रीलाई नै काम गर्न सजिलो होस् भनेर गर्न खोजेका छौं भने कसरी बेमौसमे बाजा भयो ? विश्वव्यापी कोरोनाको चपेटामा मुलुक परेको बेलामा विभिन्न अलोकतान्त्रिक विधेयक ल्याएर उहाँले बेमौसी बाजा बजाउनुभयो । सबै लकडाउनमा बसेका बेला खुसुुखुसु दुई अध्यादेश किन छिराउनुभयो ? जुन असंवैधानिक र अलोकतान्त्रिक थियो । यस्तो बेलामा यो सोच कहाँबाट आयो । जसले आफ्नो पार्टी कमजोर बनाउने अर्काको पार्टी पनि फुटाउने काम गर्छ । हिजो राजनीतिक अस्थिरता भएको बेलामा सांसद् किनबेच भएको पनि हामीले देखेका छौं ।

प्रधानमन्त्रीले अब त अध्यादेश फिर्ता गरिसक्नुभयो नि ?

त्यो त सबैको दबाबले फिर्ता गर्नुपर्ने कुरा हो, गर्नुभयो राम्रो भयो । त्यसलाई त राम्रै मानेका छौं । तर, फिर्ता गर्नुपर्ने गरी कसै ल्याउने उहाँको सोचको कुरा छ । त्यो कस्तो सोच हो ? हिजो लोकतन्त्रको लागि लड्दा कति दुःख पाएका छौं ? त्यत्रो द्वन्द्वमा फसेको मुलुकमा सबै दलहरु मिलेर लोकतान्त्रिक संविधान निर्माण गर्यौं । उहाँको यस्तो सोचले अझै खतरा छ । फेरि पनि यस्ता विधेयकहरु आउनसक्छन् । यो प्रधानमन्त्रीमा पलाएको अत्यन्तै डरलाग्दो विचार हो । यस्तो लोकतन्त्र विरोधी विधेयक कहाँ-कहाँको तत्व घुसेर आएको हो, फेरि नआउला भन्न सकिन्न । यसको लागि हाम्रो खबरदारी हो ।

स्थायी कमिटि बैठकको उद्देश्य प्रधानमन्त्रीको राजीनामा माग्ने होइन ?

उहाँले पहिला तुरुन्तै स्थायी कमिटि बोलाउनुपर्छ । उहाँ त्यो बैठकबाट भाग्नुहुँदैन । हामी पनि यहीं पार्टी लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै आएको हो । पार्टी कसरी चल्छ, चलाउने हो त्यो पनि थाहा छ । अस्ति बैठकमा बसिदिएर दुई, चार कुरा सुनेर उहाँले पनि दुई, चार कुरा राखेको भए त हामीले पनि समस्याहरु राख्नेथियौं । त्यसकारण प्रधानमन्त्री अरुको कुरा सुन्नै चाहनुहुन्न । यो उहाँको निरंकुश सोच हो । यस्तो सोच भएको व्यक्तिले कसरी नेतृत्वदायी भूमिका खेल्न सक्छ ? अब पार्टीलाई सिद्धान्त, पद्धति र विधानसम्बत ढंगले चलाउने हो भने ‘एक व्यक्ति, एक पद’ को अवधारणामा जानैपर्छ ।

‘एक व्यक्ति, एक पद’ को अवधारणा त प्रधानमन्त्रीले नै मान्नुभएको छैन नि कसरी हुन्छ ?

प्रधानमन्त्री पार्टीभित्र एउटा व्यक्ति हो । जसरी हरेक सदस्यहरु पार्टीमा एउटा व्यक्तिको भूमिकामा हुन्छन् । पार्टीको कमिटिबाट प्रणाली, पद्धिमा जाने निर्णय भइसकेपछि जोसुकैले पनि मान्नुपर्छ ।

स्थायी समितिका सदस्यले पनि दोहोरो सुविधा लिएका छन् नि तपाईंले पनि सांसद, स्थायी समिति सदस्य र प्रदेश इन्चार्ज पनि हुनुहुन्छ ?

म त इन्चार्ज मात्र न छु । मैले फेरि माथिदेखि तलसम्म सबैको भनेको छु । अब जस-जसको दोहोरो जिम्मेवारी छ । त्यसलाई तलसम्म ‘एक व्यक्ति, एक पद’को नीति लागु गर्नुपर्छ । सबैमा न्यायोचित ढंगले कार्यविभाजन हुनुहुपर्छ । अनुभव, निरन्तरता र योगदानका आधारमा कार्यविभाजन गर्नुपर्छ ।

त्यसोभए ‘एक व्यक्ति, एक पद’ को जिम्मेवारीमा तपाईं अडिग हुनुहुन्छ ?

अडिग मात्रै होइन, हामीले सुरुदेखि त्यही माग राख्दै आएका छौं त । कसैलाई दुई पद, तीनको जिम्मेवारी छ । कसैको लागि जो निरन्तर लागिरहनुभएको छ उहाँहरुलाई एउटा पनि पद छैन ।

प्रधानमन्त्रीबीच तपाँइहरूको नीतिगत मतभेद होइन पदीय हो ?

यहाँ मतभेद भन्ने कुरै नगरौं त्यो होइन । नीतिमा कसरी मतभेद हुन्छ । जसरी उहाँले पार्टीलाई पनि थाहा नदिइकन दुईवटा अध्यादेश ल्याउनुभयो । त्यसमा मापत्ति हो । राजनीतिक पार्टीहरु एकजुट हुनुपर्ने बेलामा फुटाएर कमजोर बनाउने अनि आफ्ना पक्षका मान्छेहरुलाई मात्रै ल्याउने गरी विधेयक ल्याइयो । अनि उहाँलाई कसले लोकतन्त्र विकासको राम्रो मान्छे भन्ने । पछिल्लो समय उहाँको अत्यन्तै निरंकुशत र शान्ति सोच भयो । प्रधानमन्त्रीसँग मेरो विमति भनेको सोचसँग हो । यसबाट उहाँ सच्चिएर लोकतान्त्रिक शैलीकासाथ जान सक्नुपर्छ ।

लिपुलेखमा भारतले सडक बनाइकन पनि उद्घाटन गरिसक्यो नि ?

यसमा त हाम्रा परराष्ट्रमन्त्रीज्यू, सरकार के हेरेर बसेको छ ? यदि त्यस्तो हो भने तुरुन्तै सरकारले अध्ययनका लागि पठाउनुपर्यो । आफ्नो सीमा सुरक्षा गर्ने काम सरकार र त्यसको नेतृत्वमा बस्ने व्यक्तिहरुको हो । त्यसमा विशेष गरी परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको हो । त्यसमा उहाँहरुको तुरुन्तै ध्यान जानुपर्छ । रिपोटर्स नेपालबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार