असार २८, २०८२ शनिबार July 12, 2025

संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा मध्यममार्गबाट टुंग्याइन्छ : प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुंगो लगाउन मध्यममार्गको विकल्प अपनाउने बताएका छन् ।

शनिवार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुन् । उनले बैठकमा टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधयेकलाई छिटो टुंग्याउने भन्ने बारेमा छलफल भएको बताए ।

चैत्र २८ गते विज्ञहरुसँग बसेर यसको प्राविधिक पाटो पनि टुंग्याउने उनको भनाइ छ ।

‘सदन भित्रको टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पती शुद्धिकरण सम्बन्धी विधयेकलाई छिटो टुंग्याउन छलफल भयो, सैद्धान्तिक रुपमा हामी सहमत नै छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘प्राविधिक पाटो भएकाले विज्ञहरु पनि बसेर २८ गतेको बैठकले टुंग्याउने कुरा भएको छ ।

हामी सरकारमा बसेकाहरुले फास्ट ट्रयाकबाट टुंग्याउने भनेका छौँ । प्रतिपक्षले समितिमा लैजाने कुरा छ, बीचको बाटो खोज्ने भन्ने पनि छ ।’

 

प्रधानमन्त्री दाहालले सरकार पक्षधर राजनीतिक दलहरुले भने संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट नै टुंग्याउने पक्षमा रहेको बताए ।

तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा नगईकन नटुंगिने स्पष्ट पारेका छन् । सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

ओलीले छलफलमा संसदलाई गतिशील बनाउने कुरामा छलफल भएको बताए । अहिलेको बैठक प्रारम्भिक रहेको र बैठक सकारात्मक रहेको उनको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया