काठमाडौंः निर्वाचन आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा कार्यवाहक राष्ट्रपति यादवसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा कार्यवाहक राष्ट्रपति यादवले निर्वाचन सम्पन्न गरी संवैधानिक र कानुनी दायित्व पूरा गरेकामा आयोग र सम्बद्ध सबैमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ, भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न भएको अवगत गराउनुभएको थियो । सो अवसरमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, डा.जानकीकुमारी तुलाधर, आयोगका सचिव गोर्कणमणि दुवाडी, सहसचिव शालिग्राम शर्मा पौडेललगायत सहभागी रहेका थिए । निर्वाचनको परिणाम सार्वजनिक भएको एक साताभित्र सो प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया