असार २२, २०८२ आइतबार July 6, 2025

मैले सधैंभरि चीनको सिधा कुरा पाउने गरेको छु – माधव कुमार नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुगौली सन्धिअनुसार काली नदीको उद्गम लिम्पियाधुरासम्मको भूभाग समेटेर नेपालले नयाँ नक्सा जारी गरेको छ । नेपाली इतिहासमा यसको अर्थ र महत्व के छ ?

नेपाली इतिहासको सत्यता नेपाल र ब्रिटिस-इन्डियाबीच भएको सम्झौता हो । सम्झौताअनुसार नेपालको भू-भाग सुनिश्चित भएको छ । त्यही सम्झौताअनुसार नक्सा आउनु नेपालीका निम्ति गौरवको कुरा हो । आफ्नो हक र अधिकारको कुरा हो । यसबारे लामो समयदेखि नेपाली जनता, राजनीतिक दलहरुले आवाज उठाइरहेका हुन् । तत्कालीन विभिन्न वामपन्थी पार्टी र त्यसमा पनि नेकपा एमाले पनि आवाज उठाउँदै आएको हो ।

नयाँ परिस्थिति कसरी सिर्जना भयो ?

यसपटक भारतले नै ती विषयवस्तु उठाएको हुँदा सबैको प्रमुख चासोको रुपमा आएको हो । पहिला दुवै सिमानाको बारेमा टुंगो लागेको थिएन, खासगरी सुस्ता र कालापानीको । थप छलफल बहस होला अनि टुंगो लाग्ला भनेर बसिरहेका थियौं । पछिल्लोपटक नोभेम्बर २०१९ मा भारतले आफ्नो नक्सा जारी गर्‍यो, त्यसपछि सबै नेपालीलाई झस्कायो । नेपाली जनतालाई आक्रोशित बनायो । एकपक्षीय रुपमा भारतले के गर्न खोजेको भनेर चिन्तित पनि बनायो ।

नेपाली भूमिमा सडक बनाउने र कोभिड–१९ को महामारी बेला उद्घाटन गरियो । दुई देशबीच सिमानाको समस्या बाँकी नै छ भन्ने जान्दाजान्दै यस्तो काम भयो । हामी काली नदी नेपाल र भारतबीचको सीमा नदी हो भनिरहेका छौं । काली नदीको मुहान कुन हो भन्ने कुराको टुंगो लगाउन बाँकी नै थियो, नेपाल प्रस्ट हुँदाहुँदै पनि । भारतले त्यस सम्बन्धमा कतिपय बेठिक काम गर्दै आएको भन्ने कुरा २०५२ सालदेखि उठ्दै आएको हो । तत्कालीन समयमा एमालेको तर्फबाट पनि उठाइएको थियो । म आफैं दिल्ली जाँदा त्यहाँका प्रधानमन्त्रीसँग पनि कुरा उठाएको थिएँ । स्वयं नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई चिठ्ठी लेखेर पठाएका थियौं, उहाँले पनि जवाफ दिनुभएको थियो । भारतीय राजदूतले पनि जवाफ पठाएका थिए । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजरालले पनि हामीलाई त्यही ढंगले टुंगो लगाउँछु भन्नुभएको थियो ।

लामो समयको विषयलाई प्राविधिक/राजनीतिक तहमा बसेर टुंगो लगाउनुपर्नेमा एकपक्षीय रुपमा भारतले कदम चाल्दा यो स्थिति सिर्जना भएको हो । नेपालले जारी गरेको नक्सालाई भारतले नौलो रुपमा लिन जरुरी छैन । तथ्य र प्रमाणले जे देखाएको छ, त्यसलाई मान्नुपर्छ । हामीले सीमा समस्या संयमित रुपमा हामी टुंग्याउन खोजिरहेका छौं ।

नक्सा जारी भयो तर भूगोल भारतकै नियन्त्रणमा छ । भूगोल फिर्ता ल्याउने विषय थप महत्वपूर्ण र जटिल छ । प्रधानमन्त्रीले पनि नक्सा छाप्नजस्तो भूगोल ल्याउन सजिलो छैन भन्नुभएको छ । यस्तोमा अब सरकारको कदम के हुनुपर्छ ?

यस्ता कुरा बोल्ने होइन नि ! गाह्रो छ, यस्तो छ, उस्तो छ भन्न हुँदैन के ! सम्पूर्ण देशवासी एकताबद्ध हुनुहोस्, हामी सबै हातेमालो गरौं भन्ने हो । धेरै बोल्ने कुराले बिगारेको छ । बेलाबेला मन्त्रीहरुको विवादास्पद अभिव्यक्ति आएका थिए । धेरै बोलेर, धेरै जिब्रो चलाएर पनि बिग्रेको छ । कहिले के बोलेको छ, कहिले के ! आफूभन्दा जान्ने कोही छैन भन्ने अहंकारले पनि धेरै बिगारेको छ । सबैले अंहकार त्याग्नुपर्छ, संयमित हुनुपर्छ । र, दुई छिमेकी देशबीचको सम्बन्धलाई सुमधुर बनाउने हो ।

सरकारको कदम भनेको वार्ता गर्ने हुनुपर्छ। सबै तथ्य र प्रमाण छँदै छन् । पछिल्लो समय सिक्काको कुरा पनि आइरहेको छ, त्यो हो कि होइन सुनिश्चित गर्नुपर्‍यो । पुराना दस्तावेज प्रमाण छन् । सम्झौता भएका कागजपत्र छन् । विभिन्न समयमा तिरो तिरेका रसिद छन् । त्यो गाउँका मान्छेसँग जनगणना गर्न गएको तथ्य पनि छ । त्यसकारण नेपालसँग प्रमाणको अभाव छैन । टुंग्याऊ न त भनेर तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले मलाई भन्नुभएको हो । त्यतिबेला मैले दुवैतर्फ टुंग्याऊँ, त्यसपछि हस्ताक्षर गरौंला भनेको थिएँ । केही विवाद थिएन । सिमाना कुन हो, नदीको मुहान कुन हो भनेर खोज्ने काम गरौंला भन्ने भएको हो । त्यो कुरा दुवै सरकारले मानेको हो । यसको मतलब त्यो ठाउँको विषयमा टुंगो लगाउन बाँकी छ भन्ने दुवैतिरको सहमति नै हो ।

नेपालको नयाँ नक्सा जारी भएकै दिन त्यसलाई भारतले अस्वीकार गर्ने प्रतिक्रिया दियो । यसले वार्ताबाट निकास खोज्ने नेपाली प्रयासलाई रोक्न खोजेको देखिन्छ नि ?

होइन, उहाँहरुले पनि भन्नुभएको छ, वार्ता गर्छौं भनेर । भारतीय नेतृत्व स-साना कुरामा अलमलिन्छ जस्तो लाग्दैन । हृदयको विशालताले नै कुनै पनि व्यक्ति र देशको प्रतिष्ठा बढाउँछ । त्यसकारण यो समस्यालाई सुमधुर तरिकाले हल गर्नुपर्छ । तर यसलाई धेरै ‘पब्लिक’ विवादको विषय बनाएर अहिले नै बितिसक्यो भन्ने खालको गर्नु हुँदैन । नेपालको आफ्नो दाबा प्रस्तुत भयो । भारतले नक्सा जारी गर्दा नेपालबाट पनि विरोध हुनु स्वाभाविक हो । अब तथ्य प्रमाणहरुको आधारमा टुंगो लगाऔं । वार्ताबाटै निकास खोजौं ।

५८ वर्षदेखि भारतीय फौज बसेको ठाउँ उसका लागि रणनीतिक महत्वको भूमि हो । भारतको चासो यसमा पनि देखिन्छ । अझ भारतीय मिडियामा प्रधानमन्त्री ओलीले संसदमा गरेको सम्बोधनलाई लिएर प्रचार गरिरहेका छन् ।

वार्तामा पनि भोलि त्यो भू-भाग रणनीतिक महत्वको छ भन्ने कुरा आउला । भारतको आँखामा नेपालको रणनीतिक महत्व एउटा होला, अर्को देशको आँखामा अर्कै होला । रणनीतिक महत्व भएकैले त दुवै देशसँगको सम्बन्धलाई सुमधुर बनाउने भनेका छौं । प्रधानमन्त्रीले सम्बोधन गरेको जुन कुरा छ, एउटा-एउटा शब्दमा नजाऔं । कूटनीतिक ढंगबाट समाधान गर्ने भनिसकिएको छ । भारत पक्षले पनि वार्ता गर्न चाहन्छौं भनिसकेको छ । नेपालबाट पनि वार्ता गरौं भनेपछि अब वार्तामा सबै तथ्य प्रमाण राख्नुपर्छ । त्यसको लागि आन्तरिक तयारी बलियो बनाउनुपर्छ । कूटनीतिको एउटा महत्वपूर्ण पक्ष बोल्ने कम, गर्ने धेरै हुनुपर्छ । कहिलेकाहीँ प्रत्यक्ष वार्ता भन्दा परोक्ष वार्ताको सहारा पनि लिनुपर्ने आवश्यकता पर्छ । यो हाम्रो लामो समयको अनुभवले बताएको कुरा हो ।

कात्तिक १६ मा भारतले कालापानीसमेत समावेश गरेर नयाँ नक्सा जारी गरेपछि नेपालले विरोध गर्दै कूटनीतिक वार्ताका लागि दुईपटक चिठी पठायो । भारतले सैद्धान्तिक जवाफ दिए पनि वार्तामा इच्छा देखाएन । अब भारतलाई वार्तामा ल्याउन नेपालले के गर्न सक्छ ?

नेपाल असंलग्न परराष्ट्र नीतिमा विश्वास गर्छ । छिमेकीहरुसँग सुमधुर सम्बन्ध राख्न चाहन्छ । हामी समनिकटताको सिद्धान्तको आधारमा सम्बन्ध राख्न चाहन्छौं । हाम्रा कोही पनि वैरी छैनन् । त्यसमा पनि नेपाल र भारत धर्म, संस्कृति, इतिहास, सामाजिक सम्बन्धले धेरै निकट छौं । बुद्ध जन्मेको धर्ती हो नेपाल । शान्तिको संसारभर वकालत गर्दछ । शान्तिको निम्ति संसारभर नेतृत्व गर्दछ । शान्तिभूमि नेपालले कसैका विरुद्ध अशान्तिको कुरा र गतिविधि कल्पना पनि गर्न सकिँदैन । नेपालीहरु भौगोलिक अखण्डताप्रति अत्यन्तै संवेदनशील छन् । आफ्नो सार्वभौमप्रति अत्यन्तै संवेदनशील छन् । यो संवेदनशीलतालाई सबैले बुझिदिन जरुरी छ । वार्ताबाट भागेर समस्याको हल हुने होइन, भारत वार्ताको टेबुलमा बस्नैपर्छ, उसले आफ्ना कुरा त्यहीँ राखे भइगो नि !

भारतीय मिडिया र केही बुद्धिजीवीले नेपालले नक्सा जारी गरेको विषयलाई चिनियाँ योजनाअनुसार भनेर टिप्पणी गरेका छन् । यसमा तपाईंको प्रतिक्रिया के छ ?

जसरी भारतीय मिडियामा कतिपय मान्छेले बोलिरहेका छन्, भारतीय नेतृत्वले यसलाई रोक्नुपर्छ । नेपाल र नेपालीको पनि मन जित्न सकिएन भने छिमेकीहरु सबैलाई चिढ्याएर, सबैलाई विरोधी बनाएर भारतलाई केही प्राप्त हुन्न । सबैलाई धम्क्याएर, तर्साएर तह लगाइदिन्छु भन्ने ! ठूलो राज्यको व्यवहार गरेर र ठूलो शक्तिको अहंकार देखाएर काम हुँदैन अहिलेको दुनियाँमा । यो कुरा उसले बुझ्नुपर्छ । भारतका मान्छेहरुले नेपाली अरुका पछि लाग्छन् भन्ने ठान्नुभएन । नेपालीहरु सत्य र न्यायको पक्षमा लाग्छन् । नेपालीहरु स्वाभिमानी छन्, स्वाभिमानको पक्षमा लाग्छन् ।

पछिल्लो समय भारतीय सेनाप्रमुखले जुन ढंगले बोले, त्यो पनि धेरै भयो । ठिक भएन । कूटनीतिक क्षेत्रमा आर्मीका मान्छे उतारेर एकपछि अर्को गल्ती भारतीय नेतृत्वबाट भइरहेको छ । यस्ता कुरामा उनीहरुले विचार गर्नुपर्‍यो । कतिपय नेपाली देशभक्ति भावनाले गर्दा बोल्छन्, त्यो बोल्न दिने वातावरण भारतले नै सिर्जना गरेको हो ।

उहाँहरुको आरोप सत्य हो भने तथ्य प्रमाण ल्याइदिनुस् । हामीलाई थाहा छैन । हाम्रो पार्टीलाई थाहा छैन । म विदेश विभागको प्रमुख हुँ, आजसम्म मलाई एक शब्द भनेको छैन । यस्ता गलत कुराको पछि जानु हुँदैन । भारतीय नेताहरुले नै यो भनेका हुन् जस्तो लाग्दैन । भारतका कसैले बोलिदिए होलान् । कसैले बोल्दा पनि विचार गरेर बोलिदिन आग्रह गर्दछु । बिनातथ्य, बिनाप्रमाण बहकिएर बोल्नु हुँदैन । मैले सधैंभरि चीनको सिधा कुरा पाउने गरेको छु । उनीहरु भन्छन्, ‘तपाईंहरुले भारतलाई आपसी विश्वासमा राख्नुपर्छ ।’ हामीसँग मात्रै सम्बन्ध राख् भनेर भन्दैनन् । भारत र नेपालको मामिलामा हात हाल्न पनि चाहँदैनन् । मेरो आजसम्मको अनुभवले यो बताउँछ ।

कुनै पक्षले गर्ने एकपक्षीय कार्यले परिस्थिति झन् जटिल बनाउने चीनले टिप्पणी गरेको छ । उसले वार्ताबाट समस्या समाधान गर्न सुझाव पनि दिएको छ । विवाद समाधानमा चिनियाँ भूमिका कहीँ देखिन्छ कि ?

लिम्पियाधुरा त्रिपक्षीय नाका हो । अर्को देशबाट जाने नै भने पनि नेपालको भूभाग भएर जाने कुराले त्यहाँ नेपालको पनि संलग्नताको आवश्यकता पर्दथ्यो । नेपाली भूमि भएर जाने सडक उद्घाटन, नोभेम्बरमा नक्सा जारी र २०१५ मा चीन भारतले गरेको सम्झौता; त्यो मानसरोवर जाने बोटोको सन्दर्भमा होला । तीर्थयात्रा व्यापारको लागि नै भए पनि, जे भए पनि त्यहाँ त्रुटि भयो । नेपालको भूमि भएको हुँदा त्यसबारे चीनले पनि सोध्नुपर्थ्यो । त्यसमा चीनले पनि गल्ती गरेकै हो । भारतले त झन् गल्ती गरेकै छ । त्यो त्रुटिलाई समयक्रममा उहाँहरुले सच्याउनुहोला । अहिले कोरोनाको महामारीले हाम्रो धेरै ध्यान यसमै केन्द्रित छ । यसमा धेरै विवाद चर्काउनुभन्दा पनि विश्वास, समझदारी र राजनीतिक/कुटनीतिक तवरबाट टुंग्याउनुपर्छ ।

कतिपयले भारत संवादमा नआए र नेपाली भूमि फिर्ता गर्न तयार नभए नेपाल अन्तर्राष्ट्रिय अदालत वा संयुक्त राष्ट्रसंघ जान सक्छ भन्ने तर्क गरेका छन् । यो विकल्पसम्म पुग्ने अवस्था रहन्छ ?

यो सबै कुरा आजै गरेर भएन । कोरोनाले गर्दा दुई अर्ब मान्छे मरे भने के होला ? धर्तीमा ठूलो प्रलय आयो भने के होला ? भन्ने कुराले हुँदैन । तत्कालका निम्ति सोच्नुपर्ने कुरा त होला । सोच्दै नसोच्ने कुरा होइन । त्यस्ता कुराको जवाफ दिने सवाल आउँदैन । विकल्पको विषयमा ‘इन हाउस’, ‘इन डोर’ छलफल गर्नुपर्छ । त्यसबारे सबै पक्ष केलाउनुपर्छ । तयारी सबै गर्नुपर्छ । तर, अहिले हामी अदातल जान्छौं, यो गर्छौं, उ: गर्छौं भन्ने होइन । यो विकल्प उपयुक्त हो पनि भन्दिनँ, उपयुक्त छैन पनि भन्दिनँ । यस्ता विषय बाहिर मिडियामा कराएर, उफ्रेर भन्ने कुरा होइन । कान्तिपुर दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार