काठमाण्डौः ग्लोबल टी–२० क्यानडामा आज नेपाली स्पिनर सन्दीप लामिछानेसम्मिलित सर्रे जग्वार्सले छैटौँ खेल खेल्दैछ । जग्वार्सले आफ्नो छैटौँ खेलमा ब्राम्पटन वुल्भ्सको सामना गर्न लागेको हो ।
यी दुई टोलीबीचको खेल राति ८ः४५ बजेदेखि ब्राम्पटनमा सुरु हुनेछ । सन्दीपआवद्ध जग्वार्स तेस्रो जितको खोजीमा छ । तेस्रो स्थानमा रहेको जग्वार्सले ५ खेलमा २ मा जित, एकमा हार तथा दुई खेलमा अंक बाँडेको छ ।
पहिलो खेलमा ऊ मोन्ट्रियल टाइगर्ससँग ५ विकेटले पराजित भएको थियो । यस्तै, सोमबार बिहान भएको दोस्रो खेल वर्षाका कारण रद्द भयो । तेस्रो खेलमा जग्वार्सले टोरन्टो नेशनललाई २० रनले हराएको थियो ।
चौथो खेलमा मिसिसौगा प्यानथर्सलाई ५५ रनले हराएको जग्वार्सले पाँचौं खेलमा भने वर्षा बाधक बनेपछि अंक बाँड्यो । यस्तै, दोस्रो स्थानमा रहेको वुल्भ्सले ६ खेल खेल्दा ३ मा जित, एकमा हार तथा दुई खेलमा अंक बाँडेको छ । सन्दीपआवद्ध जग्वार्समा सन्दीपसहित लिटन दास, एलेक्स हेल्स, मोहम्मद हरिस, बेन कटिङ, इफ्तिखार अहमदलगायत नाम चलेका खेलाडी छन् ।
यस्तै, वुल्भ्समा हरभजन सिंह, टिम साउथी, कोलिन डी ग्रान्डहोम, क्रिस ग्रीन, मार्क चेपम्यानलगायत स्टार छन् । जारी सिजनमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ३ खेलमा बलिङको मौका पाएका उनले ७ विकेट लिइसकेका छन् । सन्दीपले दुई खेलमा भने वर्षा बाधक बनेपछि बलिङको अवसर पाएनन् ।
यस्तै, भोलि बिहान १ः४५ बजे सुरु हुने खेलमा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीआवद्ध मोन्ट्रियल टाइगर्सले भ्यानकुभर नाइट्सको सामना गर्नेछ । ६ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइल ६ अगस्टमा हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया