काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने भएको छ । बैठक सुरु हुनुअघि संसद सचिवालयले प्रकाशित गरेको आइतबारको कार्यसूचीमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने उल्लेख छ ।
गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो विधेयक आइतबारको कार्यसूचीमा फेरि राखिएको हो । संसद सचिवालयका अनुसार सरकारले यही जेठ ९ गते दर्ता गरेको संशोधन विधेयक आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुने गरी सभामुख अग्नि सापकोटाले संभावित कार्यसूची राख्न अनुमति दिएका थिए ।
कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले आइतबार बिहान ११ बजे बस्ने बैठकमा लिम्पियाधुरासहितको नेपालको नक्सा संविधानको अनुसूची–३ मा समावेश गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन् ।
निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो । संविधानको अनुसूचीमा फरक नक्सा पर्न गएकाले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा राख्ने प्रस्तावसहित विधेयक ल्याएको हो ।
सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावलाई सर्वसम्मत पारित गराउन गृहकार्य गर्नुपर्ने भनेपछि र प्रमुख प्रतिपक्षी कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गर्छौं भनेपछि यही जेठ १४ गतेको कार्यसूचीबाट संविधान संशोधनको विषय झिकिएको थियो ।
प्रमुख प्रतिपक्षी कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ ।
यसअघि, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया