असार ३२, २०८२ बुधबार July 16, 2025

प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित (सुचना सहित)

सूचना टाँस गरेर संसद बैठक ४ बजेका लागि तय गरिए पनि साँझ ५ बजेसम्म पनि बैठकमा सहमति जुट्न सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य गर्न भन्दै बसेको सत्ता पक्ष र प्रतिपक्ष दलको बैठक बिना सहमति सकिएको छ । बैठक सञ्चालनको विषयमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहाकार शेखर अधिकारीले आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते भित्रिएको सय किलो हाराहारी तस्करीको सुन प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसदमा अवरोध कायम गरेको छ ।

यता सरकारले भने सो प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेकोले छानबिन समिति बनाउन आवश्यक नपर्ने बताएको छ ।  एमालेको अडानका कारण संसदमा गतिरोध कायम भएपछि संसद सुचारु गराउन भन्दै सभामुख देवराज घिमिरेले पहल थालेका थिए ।

बिहान उनले प्रधानमन्त्री, सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका मुख्य नेताहरुबीच सिंहदरबारमा छलफल राखेका थिए । तर दुबै पक्ष आफ्नो अडानमा कायम रहेपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्न सकेन ।

सिंहदरबारमा सहमति नजुटेपछि साढे २ बजे निस्किएका प्रधानमन्त्री सहितका मुख्य नेताहरु साढे ३ बजेपछि नयाँ बानेश्वरमा छलफलमा बसेका थिए ।

सूचना टाँस गरेर संसद बैठक ४ बजेका लागि तय गरिए पनि साँझ ५ बजेसम्म पनि बैठकमा सहमति जुट्न सकेन ।  त्यसपछि सूचना टाँस गरेर भोलिसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया