काठमाण्डौंः गण्डकी प्रदेशको वन विधेयक प्रदेश सभामा दर्ता भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापाको प्रस्तावमा गण्डकी प्रदेश मन्त्रिपरिषदले उक्त प्रस्ताव प्रदेश सभामा दर्ता गर्ने निर्णय गरेको थियो । साउन २३ बसेको मन्त्रीपरिषद बैठकबाट निर्णय भएर सोही दिन प्रदेश सभामासमेत उक्त विधेयक दर्ता भएको हो ।
मन्त्री थापाले वैशाख २९ गते पदभार ग्रहण गरेका हुन् । उनी मन्त्री भएको ३ महिना पनि पुरा नहुदै उक्त विधेयक प्रदेश सभामा दर्ता हुन सफल भएको छ । वनको संरक्षण, उपभोक्ताहरूलाई कार्य गर्न सरलीकरण, उत्पादनमा बृद्धि र रोजगारी सृजना हुने गरी विधेयक दर्ता गरिएको मन्त्री थापाले बताए । उक्त विधेयक माथि प्रदेश सभामा दफावार छलफल हुनेछ ।
वन संरक्षण क्षेत्र र विशेष वनको व्यवस्था, वन सम्वर्द्धन प्रणालीमा आधारित सामुदायिक, साझेदारी र चक्ला वनको व्यवस्था, सार्वजनिक निजी साझेदारीमा पर्यापर्यटन तथा वन उद्यम विकास गर्न सकिने व्यवस्था, वन क्षेत्रको नदीजन्य पदार्थ संकलन तथा बिक्री वितरण गर्न सकिने व्यवस्था, निजी आवादीका रुखहरुको कटान र ओसारपोसारमा थप सरलीकरण, व्यावसायिक कवुलियती वन सम्बन्धी व्यवस्था, प्रदेश भित्र स्थापित वन पैदावारमा आधारित उद्योगहरूलाई आवश्यक कच्चा पदार्थ उपलव्ध गराउन प्राथमिकता, तोकिएको परिमाण र मूल्य भन्दा बढीको गोलिया काठ र दाउरा बिक्री गर्दा ई टेण्डर गर्नुपर्ने व्यवस्था, पुरानो घर गोठको काठ दाउरा निर्माण प्रयोजनका लागि ओसारपसार गर्न तथा बाह्य बिक्री वितरण समेत गर्न सकिने व्यवस्था, उत्पादन भएको वा प्राप्त भएको काठ दाउरा १ वर्ष भित्र व्यवस्थापन गरिसक्नु पर्ने व्यवस्था लगायतका विषय उक्त विधेयकमा प्रस्ताव गरिएको छ ।
समुदायमा आधारित वन उपभोक्ता समूहद्वारा व्यवस्थापन हुँदै आएको रूख नभएको वा बीस प्रतिशत भन्दा कम क्षेत्र घनत्व भएको वन क्षेत्रमा सम्बन्धित उपभोक्ता समूहले स्वीकृत कार्ययोजनाको अधिनमा रही जडीबुटी खेती, कृषि वन वाली वा वनजन्य फलफुल रोपण गर्न सकिने व्यवस्था, प्रदेशसरकारले सार्वजनिक–निजी, साझेदारी वा सहकारी वा निजी क्षेत्रबाट जडीबुटी संकलन, खेती, प्रविधि विकास, विस्तार, उत्पादन, प्रशोधन एवं बजार प्रवर्द्धन गर्न सकिने व्यवस्था लगायत वन संरक्षण, प्रवर्द्धन, उत्पादन र रोजगारी बृद्धि गर्न सहज हुनेगरी विधेयक प्रस्ताव भएको मन्त्री थापाले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया