काठमाडौंः नेपालले चार देश सम्मिलित महिला टि २० आई सिरिजमा विजयी सुरुवात गरेको छ । मलेसियामा जारी खेलमा नेपालले आज हङकङलाई ६ विकेटले पराजित गरेको हो ।
८५ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ३६ र पूजा महतोले १६ रन जोडे । त्यसवाहेक कप्तान रुबिना क्षेत्रीले १०, इन्दुले ९ तथा सीता राना मगरले २ रन बनाए ।
वायुमास स्पोर्टस एण्ड इभेन्ट कम्प्लेक्समा पहिले ब्याटिङ गरेको हङकङले १९.१ ओभरमा अलआउट हुँदै ८४ रन बनाएको थियो । सीता राना मगरले घातक बलिङ गरिन । उनले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिएकी थिइन । इन्दु वर्माले २ तथा रुबिना क्षेत्री, कविता कुँवर र पूजा महतोले १–१ विकेट लिए । पुजाको यो डेब्यु खेल हो ।
आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले सिरिज खेल्न लागेका हुन् । नेपालले २३ अगष्टमा कुवेत र २५ अगष्टमा मलेसियासँग खेल्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया