काठमाण्डौंः एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने आज पाकिस्तान जाने भएका छन्।
सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीपको पाकिस्तान जाने बाटो खुलेको हो। सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ। न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो।
नेपाली क्रिकेट टोली भने यसअघि पाकिस्तान पुगिसकेको छ। तर, सन्दीप भने बिरामी भएका कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले टोलीसँगै लगेको थिएन।
एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ, जुन समूहमा नेपालले विश्वका बलिया राष्ट्र पाकिस्तान र भारतसँग भिड्नेछ। पाकिस्तान अहिले विश्वको एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ।
एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ। नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ। दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग हुनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया