काठमाण्डौंः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले कोरोना महामारीको रोकथाम र नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा काँग्रेसले सरकारको गल्ती कमजोरी औल्याउँदै लिनुपर्ने पहलकदमीबारे सरकारको ध्यानआकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।
बैठकले तत्काल स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अग्रपंक्तिमा रहेर काम गर्नेका लागि व्यक्तिगत सुरक्षा र जाँचको व्यवस्था गर्न माग गरेको छ । त्यस्तै क्वारेन्टाइनको गुणस्तर वृद्धि गर्ने तथा अस्पतालमा बेडको संख्या बढाउन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै कांग्रेस सवै परिक्षण पिसिआर बिधीबाट गर्न पनि माग गरेको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
पर्याप्त स्वास्थ्य सामाग्री आपूर्ति गर्न नसक्नु, आपूर्ति भएका सामाग्रीमा भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टिन नहुनु, परीक्षण किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको कांग्रेसको निश्कर्ष छ ।
केन्द्रिय समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सरकार कोरोना नियन्त्रणका नाममा केन्द्रिय सरकार नै कमाउधन्दामा लागेको आरोप लगाएका थिए । कोरोना नियन्त्रणका लागि छुट्याईएको बजेटले महामारीलाई सम्बोधन गर्न नसक्ने धारणा राखेको अर्का नेता मोहन बस्नेतले जानकारी दिए ।
बैठकमा सरकारले कोरोना महामारीलाई गम्भीरताका साथ नलिएको, पर्याप्त बजेट नछुट्याएको, स्वास्थ्य सामाग्री खरीदमा समेत सेनालाई जिम्मा लाउनु गलत भएको धारणा राखेका थिए । त्यसैगरी बिश्वमा काम नलाग्ने आरडीटि सामान खरीद गर्न लागीपरेको लगायतका आरोपहरु र भनाईहरु केन्द्य्रिय सदस्यहरुले बैठकमा राखेको बस्नेतले बताए ।
बैठकले कोरोना जाँच नगरि क्वारेन्टाइनबाट घर पठाउने सम्बन्धीत कार्यादेश तत्काल परिमार्जन गरि कोरोना पूर्णरुपमा निको भएपछि मात्र घर पठाउनुपर्नेमा जोड दिएको छ । त्यस्तै बिदेशमा रहेका नेपालीलाई सुरक्षित रुपमा घर ल्याउने तथा भारतबाट नेपाली ल्याउने क्रममा नेपालीमाथि भएको व्यवहार तत्काल सुधार्न पनि सरकारलाई सुझाब दिएको छ ।
केन्द्रीय सदस्य रमेश लेखकका अनुसार बैठकले सरकारको कमजोरी औल्याउँदै आगामी पहलकदमीबारे सरकारको ध्यानआकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको छ ।
बैठकले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको हो । यस्तै प्रत्येक जिल्लामा पार्टीका सभापतिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई दवाब स्वरूप ज्ञापन बुझाउने तय भएको लेखकले जानकारी दिए ।
कार्य समितिको बैठक हलमा प्रवेश गर्नुअघि थर्मल गनबाट नेताहरुको ज्वरो नापिएको थियो र स्यानिटाईजरको पनि प्रयोग गर्न लगाईएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया