काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)मा शनिबार दुई खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा वीरगञ्ज युनाइटेड र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुनेछ।
वीरगञ्ज पाँच खेलमा ५ अंक जोडेर तालिकाको आठौँ स्थानमा छ। पोखरा पाँच खेलबाट ८ अंकसहित चौथो स्थानमा छ। यो खेलमा जित निकाल्न सके पोखरा तालिकाको दोस्रो स्थानमा उक्लिनेछ।
यस्तै अपराह्न ५ बजे हुने दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलाम डे मेची एफसी आमनेसामने हुनेछन्।
चितवन ६ खेलबाट ७ अंकसहित सातौँ स्थानमा छ। इलाम ६ खेलबाट ४ अंकसहित अन्तिम अर्थात् नवौँ स्थानमा छ। दुवै टोली यो खेलमा जित निकाल्दै आफ्नो स्थिति सुधारको उद्देश्यमा हुनेछन् ।
यसअघि शुक्रबार भएको खेलमा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो।
मंसिर ८ गते शुरु भएको प्रतियोगितामा ९ टिम सहभागी छन्। प्रतियोगितामा धनगढी एफसी ११ अंकसहित शीर्ष स्थानमा छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया