असार २८, २०८२ शनिबार July 12, 2025

गण्डकी प्रदेशका सभामुखसहितको टोली जनकपुर भ्रमणमा

प्रदेशसभालाई व्यवस्थित, परिणाममुखी र प्रभावकारी बनाउन अन्तरप्रदेश अनुभवले महत्वपूर्ण सिकाइको काम गर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेशसभामा हुने संसदीय अभ्यास, व्यवस्थापन र अनुभव आदानप्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल नेतृत्वको टोली जनकपुरधामको भ्रमणमा आएको छ।

आ-आफ्नो प्रदेशले गरिरहेका संसदीय असल अभ्यास र व्यवस्थापनका बारेमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले सभामुख धिताल नेतृत्वको १६ सदस्यीय टोली शुक्रबार जनकपुरधामको भ्रमणमा आएको हो।

मधेस प्रदेशसभा सचिवालयका सचिव मनोजकुमार गिरीका अनुसार उक्त टोलीलाई मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, उपसभामुख बबिताकुमारी राउत ईशरलगायतले स्वागत गरेका थिए।

टोलीमा गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापासमेत रहेका छन्। उनीहरूबीच आ-आफ्नो प्रदेशले गरिरहेका अभ्यासबारे जानकारी आदनप्रदान भएको थियो।

त्यसअवसरमा मधेस प्रदेशका सभामुख मण्डलले प्रदेशसभाको संसदीय अभ्यासलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सातै प्रदेशसभाबीच समन्वय तथा सहकार्य जरुरी रहेको धारणा राखे।

उनले प्रदेशसभा तथा संघीय संसद्ले संविधानले परिकल्पना गरेअनुरूप सहकारिता, समन्वय र सहअस्थित्वको भावनासहित एकअर्कालाई सहगोग गर्नुपर्ने आवश्यकतासमेत औंल्याए।

“लामो आन्दोलन र संघर्षको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हरेक क्षेत्र र व्यक्तिलाई आफ्नो अस्तित्व तथा पहिचानका लागि छुट्टाछुट्टै रुपमा सोच्नुपर्ने अवस्था बनाए पनि एकअर्काको मर्म बुझ्न नसकेमा समस्या उत्पन्न हुन्छ। त्यसैकारण जनताको सुख र समृद्धिको लक्ष्यप्राप्त गर्न सबै प्रदेश र सबै तहका सरकार मिलेर जानुको विकप छैन। यस्ता भ्रमणले सो भावनामा बल पु¥याउने काम गर्छन्”, सभामुख मण्डलले भने।

त्यस्तै, गण्डकी प्रदेशका सभामुख धितालले नेपालका लागि प्रदेशसभा र प्रदेशगत संसदीय अभ्यास नयाँ भएकाले आ-आफ्ना प्रदेशमा हुने असल अभ्यासबारे सिक्ने र सिकाउने उद्देश्यसहित आफूले अन्तरप्रदेशसभा संसदीय भ्रमणलाई अभियानका रूपमा लिएको बताए।

प्रदेशसभालाई व्यवस्थित, परिणाममुखी र प्रभावकारी बनाउन अन्तरप्रदेश अनुभवले महत्वपूर्ण सिकाइको काम गर्ने उनको भनाइ थियो।

सभामुख धितालले भने, “प्रदेशसभामा संसदीय अभ्यास हाम्रा लागि नयाँ विषय हो। त्यसैगरी दलगत कारणले प्रदेशसभामा केन्द्रको छाया पर्ने गरेको छ। त्यसलाई हटाउन पनि हाम्रा अभ्यासलाई अझै प्रभावकारी बनाउनुपर्नेछ।”

उनले मधेस प्रदेशका सभामुखलगायतको टोलीलाई गण्डकी प्रदेशसभा भ्रमणका लागि निम्तासमेत दिए।

त्यस्तै, मधेस प्रदेशका उपसभामुख इशर र गण्डकी प्रदेशका उपसभामुख थापाले एकअर्को प्रदेशका संसदीय सभ्यासबाट सिक्नका लागि अन्तरप्रदेश भ्रमणको आवश्यकता औंल्याए।

सो अवसरमा गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेल, कम्प्युटर अधिकृत चन्द्रकला बस्नेत र मधेस प्रदेशसभा सचिवालयका तर्फबाट प्रवक्ता एवं उपसचिव (कानुन) अरुणकुमार झाले आ-आफ्नो प्रदेशका गतिविधिबारे जानकारी गराएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया