काठमाडौं । डडेलधुरामा बिहीबार ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ४६ जना र्यापिड डायग्नोस्टिक टेस्ट (आडीटी) नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गइसकेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नियमित प्रेस ब्रिफिङमा डडेलधुरामा ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी गराइएको थियो । तर डडेलधुराका कोभिड १९ का फोकल पर्सन हरि भट्ट भन्छन्, ‘बिहीबार बिहान १० बजेसम्म जिल्लामा ८३ जनामा मात्रै संक्रमण पुष्टि भएको तथ्यांक हामीले पाएका छौं । थप एक जनाबारे अहिलेसम्म हामी कहाँ जानकारी आइपुगेको छैन ।’
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठका अनुसार संक्रमित हुनेमा गन्यापधुरा गाउँपालिकाका तीन महिलासहित ५८, परशुराम नगरपालिकाका तीन महिलासहित २१ र अजयमेरु गाउँपालिकाका ४ जना पुरुष छन् ।
तर परशुराम र गन्यापधुरा नगरपालिकामा संक्रमित यसअघि घर गएको पाइएको छ ।
गन्यापधुराका संक्रमण पुष्टि भएका ५६ मध्ये ४० जना क्वारेन्टिनबाट घर पठाइएको पाइएको छ । उनीहरुमा कुनै पनि लक्षण नदेखिएपछि स्वास्थ्य मन्त्रालयको पछिल्लो गाइडलाइन अनुसार घर पठाइएको गाउँपालिकाका अध्यक्ष नलबहादुर मल्लले जानकारी दिएका छन । अध्यक्ष मल्लले भने, ‘उनीहरुलाई क्वारेन्टिनबाट घर पठाएको तीन दिन भयो । केही व्यक्ति त आज मात्रै पनि घर गएका थिए । उनीहरुलाई बाटोबाटै फर्किन भनेको छौं ।’
उनीहरु ९ जेठमा भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए । पहिलो पटक ६३ जनाको पीसीआर परीक्षण गरिएकोमा ५ जनामा मात्र संक्रमण पुष्टि भएको थियो । बाँकी सबैको रिपोर्ट नेगेटिभ आयो । अध्यक्ष मल्लले भने, ‘क्वारेन्टिनमा हेलमेल गरेर बसेका कारण उनीहरुसहित ९४ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन भएको थियो । जसमध्ये ५६ जनामा संक्रमण पुष्टि भएको छ ।’
तर उनीहरुमध्ये ४० जना आरडीटी नेगेटिभ आएका कारण घर गइसकेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया