असार २८, २०८२ शनिबार July 12, 2025

बागमती प्रदेश सभामा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन

विशेष समितिमा नेपाल मजदुर किसान पार्टीबाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले सहभागिता जनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेश सभामा संसदीय विशेष समिति गठन गरिएको छ । बिहीबार बसेको प्रदेश सभा बैठकले “बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति” गठन गरेको हो । समितिको संयोजकमा नेपाली कााग्रेसका सचेतक गोविन्द लक्साल रहनुभएको छ ।

बैठकमा नेकपा माओवादीका मुख्य सचेतक रत्न ढकालले पेश गर्नुभएको समिति गठनको प्रस्ताव सर्वसम्मतले पारित भएको हो । समितिको सदस्यमा इन्द्रप्रसाद गोतामे, उद्धव थापा, गिरबहादुर तामाङ, डा.दिनेशचन्द्र देवकोटा, प्रभात तामाङ, बसन्तप्रसाद मानन्धर, रत्नप्रसाद ढकाल, रमा आले मगर, मधुसुदन पौडेल र शैलेन्द्रमान बज्राचार्य रहेका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिला तथा योजनामन्त्रीले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रमका सम्बन्धमा सभा समक्ष गर्नुभएको प्रतिबद्धतालाई संविधान ऐन, कानून अनुसार कार्यान्वयनका लागि विशेष समिति गठन प्रस्ताव गरिएको मुख्य सचेतक ढकालले बताउनुभयो ।

विशेष समितिमा नेपाल मजदुर किसान पार्टीबाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले सहभागिता जनाएका छन् । समितिलाई फागुन २९ गते बस्ने प्रदेश सभा बैठकमा प्रतिवेदन बुझाउन समयसीमा प्रदान गरिएको छ ।

बिहीबारको बैठकमा उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले पेश गर्नुभएको प्रदेश हस्तकलाग्रामको स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सामान्य सैद्धान्तिक छलफल समेत भएको छ । प्रदेश सभाको अर्को बैठक फागुन २९ गते दिनको ३ बजे बस्ने गरि स्थगित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया