श्रावण ५, २०८२ सोमबार July 21, 2025

जेब्राक्रस’ बनाउँदै ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले पैदलयात्रुको सहजताका लागि बुद्धभूमि नगरपालिका २ गोरुसिंगे (अर्घाखाँची चोक) मा जेब्रा क्रसिङ बनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मुलुक सङ्घीय संरचनामा आइसकेपछि स्थानीय तहमा केही परिवर्तनको अनुभूति भने देखिन थालेको छ् ।

बजार क्षेत्र तीव्ररुपमा वृद्धि भइरहेका छन् । गाउँका धुलाम्ये सडक ग्राभेल बन्न थालेका छन्, शहरका ग्राभेल सडक कालोपत्रे बन्न थालेका छन्, साँघुरा सडक चौडा भएका छन्। यातायातका साधनको वृद्धिदर ह्वात्तै बढेको छ । पैदल हिँड्ने साइकल चढ्न थालेका छन्, मोटरसाइकल चढ्ने कारमा चढ्न थालेका छन् । जसले सवारी साधनको सङ्ख्या ह्वात्तै बढाएको छ ।

कपिलवस्तुका विभिन्न क्षेत्रमा भइरहेको तीव्र विकास र जनसङ्ख्याको अनियन्त्रित वृद्धिसँगै बढ्दो सवारी साधनका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिन थालेको छ । यो सँगै सडकमा पैदलयात्रुका लागि जेब्रा क्रसिङ नहुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ । विभिन्न सडकमा जेब्रा क्रसिङ नहुँदा पैदल यात्रुलाई बाटो काट्न समस्या भएको छ । सडकमा तीव्र गतिमा सवारी साधन हुँइकिरहेका हुन्छन् । जसकारण दुर्घटनाको जोखिम उच्च छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जितपुर, गोरुसिंगे, चन्द्रौटामा सडक खण्ड २४ सैँ घण्टा व्यस्त रहन्छ । व्यस्त सडकमा जेब्रा क्रसिङ नहुँदा दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले यसका लागि पहल थालेको छ । दुर्घटनाको जोखिम निकै बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिस भण्डारीले जेब्रा क्रसिङ बनाउने दायित्व आफूहरुको नभए पनि दुर्घटनाको जोखिम कम गर्न पहल थालेको बताए ।

ट्राफिक प्रहरीले पैदलयात्रुको सहजताका लागि बुद्धभूमि नगरपालिका २ गोरुसिंगे (अर्घाखाँची चोक) मा जेब्रा क्रसिङ बनाएको छ भने अन्य पैदलयात्रुको चाप रहने स्थानमा पनि जेब्रा क्रसिङ बनाउने जनाएको छ । “पहिले भएका कतिपय जेब्रा क्रसिङको रङ्ग उडेको छ । यसमा पुनः रङ्ग लगाउने र अन्य आवश्यक स्थानमा जेब्रा क्रसिङ बनाउँछौँ”, प्रहरी निरीक्षक भण्डारीले भने । उनले “सवारी र पैदलयात्रुको सहजता र सडक दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ व्यवस्थित गर्न लागेको बताए ।

सडकमा जेब्राक्रस बनाएर मात्र दुर्घटना पूर्णरुपमा नरोकिने बताउँदै सहायक प्रहरी निरीक्षक हुमनाथपौडेलले भने, “सवारी साधन र पैदलयात्रु दुवैले जेब्राक्रसको ख्याल गर्नुपर्छ ।” धेरैजसो सवारी साधन र पैदलयात्रुले जेब्राक्रसलाई ख्याल नगर्ने भएकाले सडक दुर्घटनाको जोखिम बढ्ने गरेको उनको भनाई छ ।

“ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सर्वसाधारण सतर्क हुनुपर्छ । ट्राफिकले मात्र सवारी दुर्घटनाको न्यूनीकरण रोक्न सक्दैन”, प्रहरी निरीक्षक पौडेलले भने, हामीले नियमित रुपमा सवारी सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ । यसले पनि सर्वसाधारणमा केही सचेतना बढेको छ ।”

सवारी सञ्चालन गर्दा तीव्र गतिका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले जेब्रा क्रस बनाउन नगरपालिकाको तर्फबाट आर्थिक सहयोग गरिएको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिए ।

पालिकाको बुड्ढी र गोरुसिङ्गेका ३ स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । एक लाख रुपियाँको लागतमा बाटो ओहोर दोहोर गर्ने मुख्य स्थान र विद्यालय नजिकको स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । कार्यालयले अरु पालिकासँग मिलेर पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गमा जेब्रा क्रसिङ निर्माण गर्ने योजनामा रहेको जनाएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया