असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसद आजबाट बिदा हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको शपथ फागुन २१ गते हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ६ वर्षे कार्यकाल समाप्त भएका राष्ट्रियसभाका अध्यक्षसहित २० सांसद आज आइतबारबाट बिदा हुँदै छन्।

२०७४ सालमा निर्वाचित एमालेबाट अध्यक्षसहित ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एसबाट २, जसपाबाट १, स्वतन्त्र १ र राष्ट्रपतिबाट मनोनीत विमला राई पौडेल समेत गरी २० सांसद बिदा हुन लागेका हुन् ।

६ वर्ष कार्यकाल बिताएका उनीहरू आजैदेखि बिदा हुने र सोमबार नयाँ १९ सांसदहरुले शपथ लिनेछन् भने थप एक जना राष्ट्रपति रामचन्द्र पौडेलले मनोनीत गर्नुहुनेछ।

आइतबार बिदाइ हुनेहरूमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल थापा, पार्वती कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई बिदा हुँदै छन् ।

त्यस्तै कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् भने माओवादीका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदा हुँदै छन्।

यता नेकपा एसबाट नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमिलाकुमारी, स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल पनि बिदा हुँदै छन् ।

उनीहरूको ठाउँमा हुने रिक्तता पूर्तिका लागि यसअघि नै माघ ११ मा भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित भइसकेका छन् । फागुन २१ गते उनीहरूको शपथको कार्यक्रम राखिएको छ भने एक जना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छ।

संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको शपथ फागुन २१ गते सोमबार बिहान ११ बजेर ३० मिनेटमा हुनेछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरको ल्होत्से हलमा शपथ हुने भएकाले नवनिर्वाचित सबै राष्ट्रिय सभा सदस्यहरुलाई उपस्थित हुन अनुरोध गरेको छ।

२०७४ सालमा नयाँ संविधान जारी भएपछि भएको राष्ट्रियसभाको निर्वाचनबाट ५६ जना सदस्य निर्वाचित भएका थिए भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए।

निर्वाचनपछि राष्ट्रियसभाका ५९ सदस्यहरूको कार्यअवधि गोला प्रथाबाट निर्धारण गरिएको थियो । उनीहरूको २ वर्ष, ४ वर्ष र ६ वर्ष गरी ३ प्रकारको कार्यकाल तय गरिएको थियो।

२ र ४ वर्ष कार्यकाल पूरा गरेकाहरू बिदा भइसकेका छन् भने ६ वर्ष कार्यकालको समय पाएका २० सांसदको आइतबारदेखि बिदाइ हुन लागेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया