श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेसपाद्वारा छुट्टै दलको मान्यता माग

नेसपाले निर्वाचन आयोगको अद्यावधिक विवरणसहितको पत्र संसद सचिवालयमा बुझायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः छुट्टै राजनीतिक दलको मान्यता माग गर्दै नेपाल समाजवादी पार्टी (नेसपा) ले सङ्घीय संसद्मा निवेदन दिएको छ । माघ २८ गते नै दलको पत्र संसद् सचिवालयमा प्राप्त भएको थियो । जनता समाजवादी पार्टीबाट विभाजन भई डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित नेसपा नेकपा (माओवादी केन्द्र) सँग एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिएको थियो ।

विसं २०७९ को निर्वाचन सम्पन्न भई प्रतिनिधि सभामा प्रतिनिधित्व गरेको एक वर्षपछि फरक दलको मान्यताको माग लिएर नेसपा संसद् सचिवालय पुगेको हो । माओवादी केन्द्रबाट अलग गरेर नेसपाको नाममा सदस्यहरूको नामावली अद्यावधिक गर्न माग गरिएको हो । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले नेसपाको निवेदन प्राप्त भई आवश्यक अध्ययन भइरहेको बताउनुभयो । पाण्डेयले भन्नुभयो, “निवेदन आएको छ । हामी अध्ययन गरिरहेका छौँ । चाँडै कानुन अनुसार निर्णय हुन्छ ।”

नेसपाले निर्वाचन आयोगको अद्यावधिक विवरणसहितको पत्र संसद्को जानकारीका लागि पेस गरेको छ । जसमा अध्यक्षमा महिन्द्रराय यादव, प्रतिनिधि सभामा सदस्य उमरावती देवी, गण्डकी र बागमती प्रदेश सभा सदस्य क्रमशः फणीन्द्र देवकोटा र गङ्गानारायण श्रेष्ठ रहेको जानकारी दलले गरेको पत्राचारमा उल्लेख छ । यादव सर्लाही–२ बाट निर्वाचित हुनुभएको हो । देवी समानुपातिक सदस्य हुनुहुन्छ । श्रेष्ठ प्रदेश सभामा सिन्धुली र देवकोटा गोरखाबाट निर्वाचित हुनुभएको थियो ।

विसं २०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा माओवादी केन्द्र र नेसपाले एकल चिह्नमा निर्वाचनमा भाग लिएका थिए । माओवादी केन्द्रको चिह्नमा लडेका दुई दलको कानुन अनुसार एकै संसदीय दल रहन्छ । एकल चिह्न लिएका दलमध्ये बढी सिट ल्याउने दलको नेतृत्वमा संसदीय दल गठन हुने राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था छ । सोही अनुसार माओवादीकै संसदीय दलमातहतमा सदस्य रहेका छन् । यसरी निर्वाचित सदस्यलाई संसदीय दलको ह्विप लाग्ने र कारबाही सम्बन्धित दलको केन्द्रीय समितिबाट हुने कानुनमा व्यवस्था छ ।

नेसपाले आफ्नो निवेदन सुनुवाइमा ढिलाइ भएपछि कानुन व्यवसायीलाई समेत लिएर सभामुखलाई भेट गरेको थियो । गत शुक्रबार डा. बाबुराम भट्टराई दुई वरिष्ठ अधिवक्तासहित सभामुख देवराज घिमिरेलाई भेट्न पुग्नुभएको थियो । वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र चन्द्रकान्त ज्ञवालीले दलको मान्यता दिन कानुन संशोधन आवश्यक रहेको राय सभामुखलाई दिएको स्रोतले बतायो ।

सङ्घीय संसद् सचिवालयमा निर्वाचन आयोगले पठाएको निर्वाचित सदस्यहरूको सूचीमा यादवको दल माओवादी केन्द्र नै उल्लेख छ । देवीको आबद्ध दल पनि माओवादी केन्द्र नै छ तर कैफियतमा सम्बन्धित दल नेसपा लेखिएको छ ।

प्रतिनिधि सभाका सदस्यहरूको सङ्क्षिप्त चिनारीमा पनि यादव र देवीलाई माओवादी केन्द्रकै सदस्यको सूचीमा राखिएको छ । संसद् सचिवालयले सदस्यहरूले भरेको फारामकै आधारमा उक्त विवरण प्रकाशन गरेको हो ।

माओवादीको चिह्नबाट चुनावमा भाग लिएका कारण माओवादी दलकै ह्विप लाग्ने अवस्था नेसपाका सदस्यलाई छ । औपचारिक रूपमा सङ्घीय संसद्ले पनि माओवादी केन्द्रकै सदस्यका रूपमा उनीहरूलाई कानुनी रूपमा चिन्ने गरेको छ । फरक दलको मान्यता माग भएपछि सचिवालय अध्ययनमा लागेको हो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार