श्रावण ५, २०८२ सोमबार July 21, 2025

ओलीको षड्यन्त्रमा फसे प्रचण्ड-माधव

सांसदलाई पूरा कार्यकाल संचालन गर्ने नाममा ओली र देउवाबीच अर्को गठबन्धन बन्ने सम्भावनालाई पनि नकार्न सकिन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिगमनविरुद्ध सडकदेखि सदनसम्म संयुक्त रुपमा आन्दोलन गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को सहयात्रा बिचमै टुंगिएको छ ।

यी प्रमुख चार दलहरू संविधानको रक्षाका लागि निर्वाचनदेखि सरकार निर्माण गर्ने कामसम्म जुटेका थिए । निर्वाचनपछि पनि पाँचै वर्ष आलोपालो सरकार संचालन गर्ने सहमति भएको थियो ।

त्यस सहमतिअनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई वर्ष, माधवकुमार नेपाल डेढ वर्ष र शेरबहादुर देउवा डेढ वर्ष प्रधानमन्त्री बन्ने सहमति बनेको थियो । प्रधानमन्त्री प्रचण्डले फागुन २१ गते अचानक कांग्रेससँगको गठबन्धन भत्काउने निर्णय गरेसँगै उक्त सहमति टुटेको छ । नयाँ गठबन्धनबीच के सहमति भएको छ, त्यो बाहिर आएको छैन ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा पाँचै वर्ष सत्तामा रहे भने अर्को पाँच वर्ष पनि एमाले प्रतिपक्षमै बस्नुपर्ला भन्ने चिन्ताले केपी शमी ओलीले षडयन्त्रमूलक ढंगले कांग्रेससँगको गठबन्धन भत्काएका हुन् ।

वाम–लोकतान्त्रिक गठबन्धन भत्काउन ओली सुरुदेखि नै लागेका थिए । त्यसको लागि उनले प्रचण्डलाई प्रधानमन्त्री पनि बनाए । एमाले–माओवादी गठबन्धन लामो समयसम्म टिकेन र प्रचण्ड पुनः पुरानै गठबन्धनमा फर्किए ।

नयाँ गठबन्धन बनाउँदा प्रचण्ड र ओलीबीच के–के गोप्य सहमति भएको छ, बाहिर आएको छैन । यी दुवै सहमति पालना गर्ने नेता होइनन् । यी दुवै नेता आफू अनुकूल सहमति तोड्दै जाने प्रवृत्तिका नेता भएको कारण कुनैपनि बेला ओलीले पुनः प्रचण्डलाई धोका दिएर घर न घाटको बनाए भने पनि आचार्य हुने छैन ।

कांग्रेससँग विश्वास गुमाएको र एमालेले धोका दिएको अवस्थामा प्रचण्डको पतन त निश्चय छ नै । सांसदलाई पूरा कार्यकाल संचालन गर्ने नाममा ओली र देउवाबीच अर्को गठबन्धन बन्ने सम्भावनालाई पनि नकार्न सकिन्न ।

स्रोतका अनुसार अहिले पनि प्रचण्डसँग ओली प्रतिशोध लिने बाटो हेरेर बसेका छन् । उनले फागुन ३० गते विश्वासको मत लिने भनेका छन् । विश्वासको मत लिँदासम्म कांग्रेसले ओलीलाई प्रधानमन्त्रीको बचन दिएको खण्डमा ओली नै प्रधानमन्त्री बन्ने सम्भावना पनि रहेको छ ।

ओलीबाट पटकपटक धोका खाएका प्रचण्डको चेत अझै खुलेको छैन । जसको कारण प्रचण्ड ढिलोचाँडो आफैले खनेको खाल्डोमा पर्दैछन् । ओलीले सचिवालय बैठकमा भनेका छन्– ‘एमाले माओवादी केन्द्रसहितको नयाँ गठबन्धन बन्न नदिने, नचाहने बाह्य शक्ति अहिले पनि गठबन्धन भत्काउन सकिन्छ भनेर सक्रिय छन् ।’

त्यसैगरी एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ‘प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा औपचारिक कुरा आएको छैन’ भनेका छन् ।

ओलीले दुई दुई पटक असंवैधानिक रुपमा संसद विघटन गरेको मात्रै होइन, त्यसपछि माओवादीलाई सिध्याउन सर्वोच्च अदालतका न्यायाधीश प्रयोग गरेर एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काएपछि कांग्रेससँगको गठबन्धनले प्रचण्डको अस्थित्व रक्षा गरेको थियो ।

प्रचण्डलाई ओलीभन्दा देउवा सजिला नेता मानिन्छन् । प्रचण्डले एकाएक देउवालाई धोका दिनुपर्ने कारण देखिँदैन । मन्त्री फिर्ता बोलाउने विषयमा देउवा छलफलमै थिए । राष्ट्रियसभाको अध्यक्षको सवालमा प्रचण्ड आफैँले कृष्ण सिटौलालाई वचन दिएका थिए ।

प्रचण्डले जे जति कुरामा कांग्रेससँग विवाद रहेको भनेका छन्, ती विषयमा गठबन्धन दलको बैठक बसेर समाधानको बाटो पहिल्याउन सकिन्थ्यो । तर, त्यसो भएन । अरू त अरू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत थाहै नदिई गठबन्धन भत्काउने काम भयो । यस घटनाले नेपालको चित्त दुखेको छ ।

प्रचण्डले गठबन्धन भत्काएपछि गत सोमबार नै नारायणकाजी श्रेष्ठसँग नेपाललाई भेट्न कोटेश्वर पुग्नुअगाडि ओलीले नेपाललाई फोन गरेर भनेका थिए– ‘मेरोसमेत प्रतिनिधित्व गरेर प्रचण्ड तपाईँकहाँ आउनुभएको छ ।’

ओलीको फोन आउनासाथ नेपालको मनमा लाग्यो–के षडयन्त्र हुँदैछ । ओलीबाट त्यत्रो धोका खाएर पनि फेरि ओलीकै प्रतिनिधि बनेर कोटेश्वर पुगेका प्रचण्डलाई नेपालले हाम्रो पार्टीले पर्ख र हेरको नीति लिएकाले अहिले सरकारमा जाने/नजाने भन्ने कुरा मैले भन्न मिल्दैन भनेर फर्काएका थिए ।

यदि, माधवकुमार नेपाल र उपेन्द्र यादवले सरकारको समर्थन नगरेको भए सरकार ढल्ने अवस्थामा थियो । त्यसैले भोलिपल्ट ओली आफै नाकको चालले नेपाल भेट्न गत मंगलबार कोटेश्वर पुगे । अर्कोदिन बुधबार देउवा कोटेश्वर पुगे । तर, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको दबाबका कारण बाध्य भएर एकीकृत समाजवादी सरकारमा सामेल भयो ।

त्रिशंकु संसदका कारण दलहरू मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ । अझ कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनबाटै स्थिरता, विकास र समृद्धिको नारा दिएर निर्वाचनमा गएका थिए । यो गठबन्धनलाई सरकार बनाउने म्याण्डेट जनताले दिएका थिए । तर, प्रचण्डले १५ महिनामै दुई दुई पटक जनताको म्याण्डेटको अपमान गरेका छन् ।

अस्थिरतामा रमाउने प्रवृत्ति प्रचण्डमा देखिएको छ । पछिल्लो समय गठबन्धन दलको बैठकमा प्रचण्डले छलफल नै गरेनन् । बरु प्रचण्डले दुइटा डुंगामा खुट्टा राखेर सत्ता यात्राको बाटो लिए । यसले प्रचण्डको अस्थिर नेताको पहिचान उजागर गरेको छ ।

१५ महिनामा तीनवटा गठबन्धन फेर्नु, त्यो पनि प्रधानमन्त्रीकै कारण सामान्य विषय होइन । यही अवस्था कायम रहँदा अहिलेको सरकार ढल्ने र नयाँ राजनीतिक कोर्समा मुलुक प्रवेश गर्ने देखिन्छ ।

बरु सत्ता बाहिर बस्छु तर, नीति, विधि, राजनीतिक मूल्यमान्यता र संस्कारमा सम्झौता गर्दिन भन्ने नैतिकता प्रचण्डमा देखिएन । अन्तिम पटक प्रधानमन्त्री बन्नै पर्ने बाध्यताले प्रचण्डलाई पतनको दिशामा डोहोर्याइरहेको छ ।

बेमौसमी गठबन्धन प्रचण्डका लागि ठूलो एम्बुस बन्ने निश्चित छ । प्रचण्डले दुःखमा साथ दिएका कांग्रेस र एकीकृत समाजवादीको विश्वास गुमाइसकेका छन् । माओवादी कार्यकर्तासमेत प्रचण्डको पछिल्लो निर्णयले रनभुल्लमा परेका छन् ।

सरकारको भविष्य अनिश्चित छ । भोलि नयाँ कोर्स अघि बढ्दा न त प्रचण्डको प्रधानमन्त्री पद बाँकी रहन्छ, नत जनतालाई भन्ने कुरा नै । दृष्टीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया