श्रावण ५, २०८२ सोमबार July 21, 2025

वैदेशिक रोजगारीको अँध्यारो पाटो, ज्यान गुमाउने श्रमिकको सङ्ख्या बढ्दो

विदेशमा ज्यान गुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट सात लाख आर्थिक सहायता पाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्रमा ठुलो टेवा मिलेको भनिरहँदा विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउने श्रमिकको सङ्ख्या बढेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा एक हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । आव २०७९/८० मा एक हजार २०८ जनाले ज्यान गुमाएका थिए । जुन सङ्ख्या गत आवको तुलनामा चालु आवको आठ महिनामा ४७ जनाले बढी हो ।

यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेहरूको सङ्ख्या धेरै छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट सात लाख आर्थिक सहायता पाउँदै आएका छन् ।

पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्युकुण्डमा होमिन पुगेका हुन् । तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि दैनिक औसतमा एक हजार नौ सय बढी श्रम स्वीकृति लिएर जाँदा पाँच वटा शव काठको बन्द बाकसमा नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् । बोर्डका पछिल्लो आठ महिनाको अवधिमा साउदी अरबबाट ५१४, मलेसियाबाट ३३३, कतारबाट १२३ र संयुक्त अरब इमिरेट्स (युएई) बाट ८२ जना नेपालीको शव नेपाल ल्याइएको छ । यीमध्ये १९७ वटा शव बोर्डको खर्चमा सम्बन्धित देशको दूतावास, गैरआवासीय नेपाली सङ्घलगायतको समन्वयमा नेपाल ल्याइएको बोर्डले जनाएको छ ।

गत आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर बिदेसिएका थिए । उक्त वर्ष औसतमा दैनिक दुई हजार ११३ जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए । विभागका अनुसार, चालु आव २०८०/८१ को साउनदेखि फागुनसम्मको आठ महिनाको अवधिमा श्रम स्वीकृति लिई चार लाख ७१ हजार २१० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । चालु आव सुरु भएपछि दैनिक औसतमा एक हजार ९६३ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

बोर्डका प्रवक्ता टीकाराम ढकालका अनुसार चालु आवमा मात्रै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकामध्ये ८१७ मृतकको परिवारले सात लाखका दरले आर्थिक सहायता लिइसकेको र बाँकीको दिने प्रक्रियामा रहेको छ ।

गत आवमा मृत्यु भएका एक हजार २०८ जनाको परिवारलाई बोर्डले आर्थिक सहायतास्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपियाँ प्रदान गरेको थियो । ढकालका अनुसार आव २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १३ हजार ४४ जनाको परिवारलाई आर्थिक सहायतास्वरूप चार अर्ब ८६ करोड ३० लाख ४४ हजार रुपियाँ उपलब्ध गराइएको छ ।

चालु आवको आठ महिनामा वैदेशिक रोजगारीका क्रममा बिरामी, अङ्गभङ्ग भएका ३३३ जनालाई आर्थिक सहायतास्वरूप १० करोड छ लाख ३५ हजार रुपियाँ उपलब्ध गराइएको छ ।

बोर्डका अनुसार आव २०६५/६६ देखि २०८०/८१ को फागुनसम्म (१५ वर्ष आठ महिनामा वैदेशिक रोजगारीमा गएका १३ हजार ३९५ जनाको मृत्यु भएको छ । मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम स्थानीय तहमा निवेदन दिएर अनलाइनमार्फत कागजात चेकजाँच गर्ने प्रविधिको विकास गरेसँगै सेवाग्राही सङ्ख्या बढेको बोर्डको दाबी छ ।

वैदेशिक रोजगारीका क्रममा अधिकांशको मुत्युको कारण कार्यस्थलको दुर्घटना र सडक दुर्घटना रहेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् । मृत्यु हुनेमध्ये अधिकांश सडक दुर्घटना, प्राकृतिक मृत्यु तथा आत्महत्याको ठुलो सङ्ख्या छ ।

नेपालले वैदेशिक रोजगारमा मृत्यु हुनुको प्रमुख कारण सामान्य सिप र सूचनाबिना नै विदेश जाने गरेको बताउने गरिएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये ४६ प्रतिशत अदक्ष युवा विदेश जाने गरेको र त्यो सङ्ख्या जोखिममा पर्ने गरेका छन् ।

चालु आव २०८०/८१ को सात महिनामा वैदेशिक रोजगारीबाट आठ खर्ब ३९ अर्ब विप्रेषण भित्रिएको छ । चालुु आवको आठ महिनामा चार लाख ७१ हजार रोजगारीका लागि बिदेसिँदा सो अवधिमा एक हजार २५५ जना श्रमिकले विदेशी भूमिमा काम गर्दागर्दै ज्यान गुमाएका छन् । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार