श्रावण ५, २०८२ सोमबार July 21, 2025

‘कोमा’ मा सिंहदरबार वैद्यखाना

बोलपत्र आह्वान हुँदा पनि जडीबुटी खरिदमा व्यापक अनियमितता हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख २ गते । आयुर्वेदिक औषधीको अध्ययन, अनुसन्धान र उत्पादनको उद्देश्यसाथ २०५१ सालमा स्थापित सिंहदरबार वैद्यखाना विकास समिति ३० वर्षपछि आफैँ ‘कोमा’ मा पुगेको छ । करोडौँ रुपियाँ खर्चिएको औषधी उत्पादनको मेसिनमा खिया लागिरहँदा सिंहदरबार वैद्यखाना विकास समितिको कार्यालय ५० जनाभन्दा बढी कर्मचारीको ‘जागिर खाने, दिन बिताउने’ अड्डा बनेको हो ।

व्यवस्थापकीय लापरबाही र राजनीतिक हस्तक्षेपका कारण काठमाडौँ अनामनगरस्थित सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादन बन्द हुने अवस्थामा पुगेको छ । तीन वर्षदेखि आयुर्वेदिक औषधी उत्पादनका लागि बोलपत्र आह्वान हुन सकेको छैन । दुई सय प्रकारका औषधी उत्पादन गर्ने क्षमतासाथ विकास र विस्तार गरिएको सिंहदरबार वैद्यखाना थलिएको छ ।

असोजदेखि अध्यक्षविहीन

गत असोजमा समितिका अध्यक्ष वरिष्ठ आयुर्वेदिक चिकित्सक डा. बाबुराजा अमात्यको पदावधि सकिए पनि नयाँ अध्यक्ष नियुक्त गरिएको छैन । सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले भन्नुभयो, “कुनै निर्णय गर्नका लागि बोर्ड छैन । कार्यालय प्रमुखलाई अधिकारविहीन बनाइएको छ । मैले आफ्नोतर्फबाट निर्णय गरेर खरिद र उत्पादन गर्न सक्ने पाँच लाख केजी च्यवनप्रास उत्पादन भएको छ । अरू काम ठप्प छ ।” गत कात्तिकमा कार्यालय प्रमुख भएर सिंहदरबार वैद्यखाना आउनुभएका डा. केसीले बेथितिले थलिएको संस्थालाई सुधार्ने अधिकार आफूसँग नरहेको बताउनुभयो । उहाँले पदीय जिम्मेवारीमा रहे पनि आफूसँग कामकारबाही प्राथमिकतासाथ अघि बढाउने अधिकार नभएको दाबी गर्नुभयो ।

रोकियो जडीबुटी खरिद

२०७८ पछि जडीबुटी खरिद गर्न बोलपत्र आह्वान भएको छैन । बोलपत्र आह्वान हुँदा पनि जडीबुटी खरिदमा व्यापक अनियमितता हुँदै आएको छ । जडीबुटी खरिद नभएपछि औषधी उत्पादन पनि भएको छैन ।

डा. केसीले भन्नुभयो, “मैले जडीबुटी कारोबार गर्नेसँग बुझेँ, सोधेँ, अरू निजी कारखानालाई निसङ्कोच जडीबुटी दिने ठेकेदार वैद्यखानालाई जडीबुटी दिन सङ्कोच मान्दारहेछन् । त्यसमाथि भ्यालु–एड गरेर दुई सय रुपियाँको जडीबुटीलाई चार सय रुपियाँ बनाएर किन्ने गरेको पाएँ । यो बेथिति अन्त्य गर्न सरकारले ठुलै निर्णय लिनु पर्छ ।”

उहाँले सिंहदरबार वैद्यखाना राज्यको प्राथमिकतामै नपरेको गुनासो गर्नुभयो । उहाँले दिनभरि बस्न र तलब खानका लागि मात्रै कर्मचारी भर्ती गर्नु गलत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यति दक्ष जनशक्ति भएको वैद्यखाना चलाउनै पर्छ । सकिँदैन भने बन्द गर्नु पर्छ । वैद्यखाना इतिहास हो । निर्णय लिनु पर्छ । तलब दिएर कर्मचारी पालिराख्ने मात्रै होइन ।”

हस्तक्षेप गर्छु : यादव

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सिंहदरबार वैद्यखानाका सन्दर्भमा हस्तक्षेपकारी ढङ्गले निर्णय लिने बताउनुभयो । उहाँले वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादन बन्द भएको विषयमा आफू जानकार रहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “सिंहदरबार वैद्यखाना राजनीतिको अखडा भयो । कर्मचारी अत्यधिक हुँदा पनि कामको अत्तोपत्तो छैन । यो अवस्था मैले पाएको छु । ब्रिफिङ लिँदा त्यहाँका प्रमुखबाट शून्यकै अवस्था पाएँ । यत्रो लगानी छ, वैद्यखाना हेर्दा आँसु आयो ।”

उहाँले केही दिनभित्रै बैठक राखेर औषधी उत्पादन प्रक्रियाका सन्दर्भमा निर्णय लिने बताउनुभयो । उहाँले भन्नुभयो, “उत्पादन गर्नै पर्छ । हस्तक्षेप गर्ने तयारीमा छु । आयुर्वेद चिकित्सालाई सँगसँगै लैजाने सोचसाथ कसरी वैद्यखाना राम्रो बनाउन सकिन्छ, त्यही विषयमा निर्णय गर्छु ।”

उहाँले नेपालका जडीबुटी बोरा, किलो, क्विन्टलको भाउमा विदेश जाने, त्यहाँबाट ग्राम र मिलिग्राममा महँगोमा किन्नुपर्ने र वैद्यखानामा रहेका मेसिनचाहिँ खिया लाग्ने अवस्था अन्त्य गर्ने गरी हस्तक्षेप गर्ने प्रस्ट पार्नुभयो ।

सिंहदरबार वैद्यखाना स्थापनालगत्तै सिलाजित, त्रिफला चुर्ण, तुलसी चिया, अश्वगन्धा चुर्ण, अश्वगन्धारिस्ट, च्यवनप्राससहित दुई सय प्रकारका औषधी उत्पादन सुरु गर्ने गरी तयारी गरिएको थियो ।

एक सय वटा आयुर्वेदिक औषधी नियमित उत्पादन हुने गरेको थियो । आर्थिक वर्ष २०७७/७८ यता औषधी उत्पादन क्षमता अनुसार बोलपत्र आह्वान हुन सकेको छैन । २०७७/७८ मा वैद्यखानाका लागि नेपाल सरकारको बजेटले गुरुयोजनासहितका काम गर्ने तय भएको थियो तर काम भएको छैन । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार