श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

बनेपामा घरका तर जमिन नभएकालाई कौसीखेती उपयोगी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’  प्रवर्द्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ। नगर कृषि शाखाले कौसीखेती तालिम सकेर कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन नगरस्थित वडा नं ७ बाट तालिम प्राप्त परिवारका महिलालाई आवश्यक सामग्री एवं बीउबिजन वितरण थालेको छ।

उक्त शाखाले कौसीखेती प्रवद्र्धनका तीन वर्षको अवधिमा एक हजार परिवारका नागरिकलाई तालिम दिएको थियो। तालिमप्राप्त व्यक्तिका लागि कौसीखेती गराउने उद्देश्यले खेती गर्न आवश्यक पर्ने सामग्री क्रमशः वडागत रुपमा वितरण गर्दै जाने कृषि प्राविधिक कमला हुमागाईले बताए।

उनका अनुसार विशेष गरी नगरको सहरी क्षेत्रमा पर्ने वडा नं ४, ५, ६, ७, ८, ९, १० र १३ का एक हजार घर परिवारका लागि ग्रो–ब्याग चार हजार थान, कम्पोष्ट मल दुई हजार प्याकेट, कोकोपिट दुई हजार, एक हजार हजारी र एक हजारलाई बीउबीजन वितरण गरिनेछ।

शाखाका अनुसार कौसीखेतीका लागि सबैभन्दा धेरै वडा नं ८ मा तीन सय, ७ मा दुई सय ७०, ९ का एक सय २५, ४ का ३०, ५ का ७५, ६ का २५, १० का ७५, १३ का ५० र अन्य ५० जना गरी एक हजार जनाले विभिन्न तरकारी एवं फलफूलका तालिम लिएका थिए। नगरले कौसीखेतीका लागि प्रोत्साहनस्वरुप निःशुल्क तालिम सुरु गरेसँगै एक हजार महिला यस खेतीमा आबद्ध भएका हुन्।

‘छोराछोरीलाई झोलामा हैन माटोमा तरकारी फल्छ भनेर सिकाउन पनि कौसीखेतीले सघाएको छ, खेतीमा चलाउमान भइरहँदा आफ्नो रोगलाई समेत कम गराएको छु’, बनेपा–७ को जमुना घिमिरेले भनिन्। उनले विशेष गरी आफ्नै कौसीमा साग, धनिया, मेथी, लट्टेको साग, लसुन, प्याजलगायत तरकारी फलाउने गरेको सुनाइन्।

बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले आफ्नै घरको छतमा फलेका तरकारी र फूल हेरेर तनाव व्यवस्थापनमा सहयोगी भएको बताउछन्।

‘कुहिने र नकुहिने फोहर व्यवस्थापन गरेर त्यसबाट मोहोर कमाउने योजनाअनुसार कौसीखेती कार्यक्रम सञ्चालन गरेका हौँ’, उनले भने। उपप्रमुख विमला सापकोटाले फुर्सदको समयमा कौसीखेतीमा ध्यान दिँदा तरकारीमा खर्च हुने पैसासमेत जोगिने बताए।

उनले खुर्सानी, कागती, धनिया, साग, काक्रो, फर्सी–मुन्टा र पुदिना कौसीखेतीका मुख्य आकर्षण भएको बताए। बनेपामा घरका तर जमिन नभएकालाई कौसीखेती उपयोगी भएको उनको अनुभव छ। -रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया