असार २९, २०८२ आइतबार July 13, 2025

माधव फकाउँदै प्रचण्ड र ओली

नेपाल विपक्षी दलको बैठकमा सहभागी भएको दोस्रो दिन प्रचण्ड र ओली सक्रिय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले सत्तागठबन्धनप्रति लगातार असन्तुष्ट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई विश्वासमा ल्याउने प्रयास थालेका छन् । बुधबार विपक्षी दलको बैठकमा सहभागी भएका नेता नेपालसँग शुक्रबार उनीहरूले छलफल गरेका हुन् ।

पछिल्लो समसामयिक राजनीतिक परिस्थिति र बजेटका विषयमा केन्द्रित रहेर प्रधानमन्त्री प्रचण्ड र ओलीले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा नेपालसँग छलफल गरेका हुन् । एमाले अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रतिक्रिया दिए । ‘समसामयिक परिस्थितिबारे छलफल भएको छ,’ ओलीले भने ।

बुढानीलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलका शीर्ष नेताहरूको बैठकमा नेपाल सहभागी भएपछि उनको भूमिका र मधेशमा नयाँ सरकार गठनमा पर्न सक्ने प्रभावबारे सत्तागठबन्धनका शीर्ष नेताहरूको चासो थियो । १५ मिनेटको छलफलमा नेपालले बुढानीलकण्ठको भेटर्वाताबारे प्रस्टीकरण दिएका थिए । प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएरै विपक्षी नेताहरू सहभागी बैठकमा पुगेको नेपालको भनाइ थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री, ओली र नेपालबीच संसद्मा बजेट छलफलको तयारी र समसामयिक परिस्थितिमा केन्द्रित रहेर छलफल भएको बताए । ‘उहाँहरूबीच १५ मिनेट कुराकानी भयो, संसद्मा बजेट छलफलको तयारी र समसामयिक परिस्थितिमा छलफल भएको छ,’ आचार्यले भने ।

एकीकृत समाजवादीको भूमिकाप्रति प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली असन्तुष्ट छन् । अर्कोतर्फ प्रचण्ड र ओलीको कार्यशैलीप्रति नेपालको आपत्ति रहँदै आएको छ ।

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी नेतृत्वको सरकारमा एमाले र माओवादी सामेल भएका छैनन् । बिहीबार मधेश प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने एमाले, माओवादी र जनमत पार्टीबीच सहमति भएको छ । तर, सत्तापक्षमै भए पनि त्यस सहमतिमा एकीकृत समाजवादी सामेल छैन ।

अर्कोतर्फ मधेशमा जनमतलाई मुख्यमन्त्री दिन एमाले र माओवादी तयार भएका छन् । तर, यहाँ लोसपा र एकीकृत समाजवादी निर्णायक अवस्थामा छन् ।  नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया