काठमाडौँः सत्तारूढ प्रमुख दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा माओवादी ‘जनयुद्ध’ को रङ दिएको भन्दै आलोचना गरेका छन् । त्यही कारणले बजेट माओवादीतिर ढल्केको उनको आरोप छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को दुवै बैठकमा प्रस्तुत गरेको बजेटलाई ओलीले ‘अन्योलग्रस्त’ र ‘गम्भीर त्रुटि’ भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार समाजवाद उन्मुख बजेट ल्याउन सफल भएको भन्दै यसको पक्षमा दृढतापूर्वक उभिन माओवादी सांसदहरूलाई निर्देशन दिएका छन् । उता, ओलीले एमालेका सांसदलाई समर्थन र आलोचना गर्न निर्देशन दिएका छन् । बजेटमा एमालेले अस्वीकार गर्दै आएको माओवादी ‘जनयुद्ध’ लाई सम्बोधन गरेको भन्दै ओलीले आलोचना गरेका हुन् । यसअघि सशस्त्र संघर्ष प्रयोग गर्दै आएकोमा यस पटक बजेटका २ नम्बर बुँदामा २००७, २०४६ को आन्दोलन, २०६२/६३ को जनआन्दोलनसँगै २०५२ को ‘जनयुद्ध’ शब्द प्रयोग भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनःस्थापनाका लागि शान्ति कोष स्थापना गर्न १ अर्ब विनियोजन भएको छ । बजेटमा सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा अन्य आन्दोलनमा घाइते र अपांग भएकालाई प्रदान गरिँदै आएको जीवन निर्वाह भत्तालाई निरन्तरता दिइएको छ । गठबन्धन सरकारका तर्फबाट अर्थमन्त्री पुनले ल्याएको बजेटलाई माओवादीतर्फ ढल्किएको भन्दै ओलीले आलोचना गरेका हुन् ।
ओलीले एमाले सांसदलाई बजेटको सकारात्मक र नकारात्मक दुवै पाटो केलाएर संसद्मा प्रस्तुत हुन निर्देशन दिएका छन् । शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको ओलीको आरोप छ । बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको भन्दै उनले बजेट निर्माणको प्रक्रियामा नै कमीकमजोरी गरेकाले योजना कटौती भएको भए प्रश्न गर्न निर्देशन दिए ।
‘दफावार हिसाबले नजाँदा पनि यो बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर, छलफल गरेर आएको भए धेरै राम्रो हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो भन्ने देखिन गएको छ,’ ओलीको भनाइ थियो । कान्तिपुरबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया