श्रावण ६, २०८२ मंगलबार July 22, 2025

मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो

१८ वटा आधुनिक घारमा एक पटकमा एक सय केजीसम्म उत्पादन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २० लाख बढी भित्रिएको छ ।

टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक रूपमा मौरी पालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थान मौरी पालन हुने गरेको छ ।

मह आम्दानीको राम्रो स्रोत बनेको स्थानीय मौरीपालक किसान सारुहाङ राईले बताए । आफूले पालेको १८ वटा आधुनिक घारमा एक पटकमा एक सय केजीसम्म उत्पादन हुने उनले बताए । एक वर्षमा मौरीलाई दुईदेखि तीन पटकसम्म काढ्न सकिने उनले जानकारी दिए। स्थानीय बजारमा मह प्रतिकेजी रु एक हजार पाँच सयमा बिक्री हुने उनको भनाइ छ ।

‘मह नागी क्षेत्रका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ’, उनले भने, ‘मौरीबाट थोरै मेहनतमा राम्रो आम्दानी लिन सकिन्छ । हाम्रो क्षेत्र ५० घर बढीले व्यावसायिक रूपमा मौरी पालन गरिरहेका छौँ ।” नागी क्षेत्रबाट एक वर्षमा रु एक करोड २० लाख बढीको मह उत्पादन हुने वडाध्यक्ष हर्कराज राईले बताए । यो क्षेत्र प्राकृतिक हिसाबले मौरीको लागि उपयुक्त रहेको उनको भनाइ छ । भौगोलिक रूपमा अलि बढी चिसो क्षेत्र रहेकाले हिउँदको समयमा पनि मौरीपालनमा सहजता पुर्‍याउने लक्ष्यले आधुनिक माटेघार वितरण गरिरहेको उनले जानकारी दिए ।

‘हाम्रो क्षेत्रमा मौरीपालनबाट रु एक करोड बढी भित्रिएको अवस्था छ’, वडाध्यक्ष राईले भने, ‘यहाँका अधिकांश किसानले मौरी पालन गरिरहेका छन् । मौरी पालनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन वडाले भूमिका खेलिरहेको छ । अहिले हामीले आधुनिक माटेघार वितरणमा जोड दिएको छौँ । न्यानो हुने भएकाले माटेघारमा मौरी पालन गर्दा हिउँद समयमा मौरीलाई बचाउन सकिन्छ ।’

व्यावसायिक मौरीपालनमा लागेका किसानलाई थप प्रोत्साहन गर्न गाउँपालिका र वडासँगको सहकार्यमा करिब रु सात लाख ७० हजार बराबरको दुई सय आधुनिक माटेघार वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिए । गाउँपालिकाले मौरीपालनमा लाग्ने किसानलाई आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ ।

‘मौरीपालनमा लागेका किसानलाई गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको छ’, प्रशासकीय अधिकृत पौडेलले भने, “यो वर्ष करिब रु सात लाख ७० हजार बराबरको आधुनिक घार वितरण गरेका छौँ । यसले किसानमा थप उत्साह थपिएको छ ।”

पराम्परागत रूपमा मौरी पालन गर्दै आएको अवस्थामा गाउँपालिकाले आधुनिक प्रविधिको घार वितरणले उत्साह थपिएको स्थानीय मौरीपालक किसान शुक्रराज राईले बताए। परम्परागत घारको तुलनामा आधुनिक घारमा मह बढी उत्पादन हुने उनको भनाइ छ । आधुनिक घारमा मह काढ्नसमेत सहजता हुने उनको भनाइ छ ।स्थानीय मुढेघारको तुलनामा आधुनिक घारमा दोब्बर मह उत्पादन हुने किसान राईले जानकारी दिए ।

“हामीलाई मौरीपालनमा उत्साह थप्न गाउँपालिकाले आधुनिक घार दिएको छ”, उनले भने, “आफ्नै लगानीमा मौरी पालन गरिरहेको अवस्थामा गाउँपालिकाको तर्फबाट सहयोग पाउँदा खुसी लागेको छ ।” गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । किसानलाई व्यावसायिक बनाउन उनीहरूको आवश्यकताका आधार सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ । नागी क्षेत्र मौरीको लागि उपयुक्त रहेकाले कार्यपालिकाको निर्णयअनुसार यहाँ आधुनिक घार वितरण गरिएको उपाध्यक्ष राईले बताए ।

“गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर आवश्यक काम गरिरहेको छ”, उपाध्यक्ष राईले भने, “यहाँको कृषिको सम्भावनालाई खोजी गरेर आवश्यक सहयोगका कार्यक्रम सञ्चालन भइरहेका छन् । कृषिबाट पनि किसानको आयस्तर बढाउने हाम्रो लक्ष्य छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार