श्रावण ४, २०८२ आइतबार July 20, 2025

राहदानी बाकसमा थन्क्याएर तरकारी खेती, वार्षिक १५ लाखसम्म आम्दानी

वर्षायाममा १० रोपनी र हिउँदयाममा १५ रोपनी क्षेत्रफलमा तरकारी फलाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो समय देशमा अवसर नभएको भन्दै दैनिक हजारौं नेपाली विदेशिरहेका छन् । तर, पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकका युवा दीपक शर्माले भने व्यावसायिक तरकारीखेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गरिरहेका छन् ।

विदेश जान बनाएको राहदानी बाकसमा थन्क्याएर व्यावसायिक रूपमा तरकारीखेतीमा लागेका शर्मा गाउँमै बसेर मनग्य आम्दानी गर्न सफल भएका हुन् ।

उमेरले ३८ वर्ष पुगेका दीपक र उनकी श्रीमती सीता शर्माले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक १५ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

आफू जन्मिने बेलादेखि नै आफ्ना बुबाआमाले अँगालेको निर्वाहमुखी परम्परागत तरकारी उत्पादन पेसालाई व्यावसायिक बनाउँदै आफूले ठूलोमात्रामा तरकारीखेती थालेको उनले बताए ।

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक नजिकै पर्छ मिलचोक । यहाँ उत्पादित तरकारी सजिलै ढुवानी गरेर छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजार, पर्वतको कुश्मा र बागलुङ बजारमा बिक्री हुने गरेको छ ।

बिहान ६ बजेदेखि बेलुका अबेरसम्म करेसाबारीमै व्यस्त हुने शर्मा दम्पतीले लामाबगरस्थित करिब सात रोपनी खेत वार्षिक रूपमा एक लाख २० हजार भाडामा तथा बाँकी आफ्नै खेतबारीमा तरकारी खेती गरेका छन् । वर्षायाममा १० रोपनी र हिउँदयाममा १५ रोपनी क्षेत्रफलमा तरकारी लगाउने गरेको दीपकले बताए ।

पाँच रोपनी क्षेत्रफलमा वर्षायाममा धान रोपाइँ गर्दै आएका छन् । करेसाबारीमा काँक्रो, सिमी, बोडी, भ्यान्टा, लौका, करेला, घिरौँला र खुर्सानी, धनियाँलगायत मौसमी तथा बेमौसमी तरकारी फलाउँदै आएका छन् । सिजनअनुसार आलुखेती गर्छन् । उत्पादन भएको ताजा तरकारी लिन व्यवसायी घरमै आउने भएकाले बिक्रीको समस्या नरहेको उनले बताए ।

करेसाबारीबाटै दैनिक रूपमा तरकारी बिक्री गर्ने शर्माले वार्षिक १५ लाखसम्मको आम्दानी हुने गरेको बताए । मेहनत गर्नसकेमा दुःखअनुसार कमाई पनि हुने भएकाले श्रीमान्लाई विदेश नपठाएको सीताले बताइन् । ‘विदेश गए पनि दुःख नै गर्नुपर्छ, त्यहाँ गर्ने दुःख यहीँ गर्न सकेमा आम्दानी पनि हुन्छ, घरपरिवारसँग बस्दा सबैलाई आनन्द पनि हुन्छ,’ उनले भनिन्, ‘मैले श्रीमान्लाई विदेश जान दिइनँ । यही माटोमा सँगै परिश्रम गरौँ भनेँ । छरछिमेकका साथीहरु विदेश गएको देखेर राहदानी बनाएको भए पनि जान रोकेकी हुँ ।’

दीपक दम्पतीले आफूले गर्न नसकेको काम दैनिक ज्यालादरी मजदुर राखेर गर्दै आएको बताए । दीपककी आमा भद्रकली शर्माले आफूले पहिल्यैदेखि निर्वाहमुखी रूपमा गर्दै आएको पेसालाई छोराबुहारीले अगालेकामा दङ्ग छिन् । ‘अहिले उनीहरूले धेरै जग्गामा लगाएका छन्, कमाइ राम्रो भएकामा हामी बूढाबूढी खुसी छौँ,’ उनले भनिन् ।

तरकारीबाट भएको आम्दानीले छोरालाई निजी विद्यालयमा पढाएका छन् भने बाँकी रकम बैंकमा बचत गर्ने गरेको दीपकले बताए । अहिले परिवारको आर्थिक अवस्था सुधार हुनुका साथै सबैभन्दा बढी आत्मसन्तुष्टि प्राप्त भएको दीपकको अनुभव छ । उनले सबैजसो खर्च कटाएर वार्षिक छदेखि सात लाख बचत हुने गरेको बताए ।

विदेशमा गए पनि मरिमेटेरै दुःख गर्नुपर्ने भएकाले आफ्नै खेतबारीमा पसिना बगाउन उनले भविष्यको खोजीमा विदेशिन लागेका युवालाई सुझाव दिए । उनले व्यावसायिक रूपमा तरकारीखेतीमा लाग्न चाहने युवालाई आफूले ज्ञान, सीप र प्रविधिका साथै बजारीकरणमा  सहयोग गर्ने प्रतिबद्धता जनाए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार