श्रावण ३, २०८२ शनिबार July 19, 2025

संरक्षणको अभावमा लोप हुँदै थुन्से बुन्ने पेसा

सीप अभाव र संरक्षण नहुँदा यहाँका युवा पुस्ताले रैथाने ज्ञान र सीपलाई निरन्तरता नदिई अन्य पेसा अङ्गाल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धुलिखेल (काभ्रेपलाञ्चोक), भदौ ५ गते । रोशी गाउँपालिका–३ निङ्गालेका रणबहादुर तुम्सिङ मगरले जङ्गलमा पाइने निङ्गालोबाट चोया निकालेर थुन्से बुन्ने काम गर्दै आउनुभएको छ । विगत ५० वर्षदेखि कृषिसँगै थुन्से बुन्दै आउनुभएका मगरले यसको बिक्रीबाट मासिक रु ३० हजारसम्म आम्दानी गर्दै आउनुभएको हो ।

खेतीपाती बाहेक वैकल्पिक पेसा केही नभएका यहाँका ग्रामीण क्षेत्रका किसानको आम्दानीको स्रोत थुन्से बुनेर बिक्री गर्ने रहेको मगरले बताउनुभयो । पछिल्लो पुस्ताले सीप नसिक्दा, सरोकार भएका निकायले संरक्षणका लागि पहल नगर्दा पेसा नै लोप हुने अवस्थामा पुगेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

जीविकोपार्जनका लागि वर्षौँदेखि गर्दै आएको निर्वाहमुखी पेसा लोप हुन लागेको भन्दै स्थानीय तहले सङ्कटमा रहेका पेसा, कलासंस्कृतिको संरक्षणमा पहल गर्नुपर्नेमा मगरले जोड दिनुभयो । “दुःख गरेअनुसार श्रमको मुल्य पाइँदैन”, उहाँले भन्नुभयो, “पहिलापहिला बुनेको थुन्से बोकेर दाप्चा नमोबुद्ध हुँदै पनौतीलगायत बजारसम्म लगेर बिक्री गर्नुपर्ने अवस्था थियो । अहिले गाउँमा यातायातका साधन र सडक सञ्जाल विस्तार भएपछि बिक्री गर्न सजिलो भएको छ ।”

निङ्गालोको चोयाबाट बुनेका सामग्री बिक्री गर्न बजार अनुकूल नहुँदा व्यापारीलाई कम मूल्यमा पठाउने गरेको मगरले गुनासो गर्नुभयो । आफूले व्यावसायिक सीप कतैबाट नसिकेको बताउँदै पुर्खाले गरेको देखेर सिक्दै, बुन्दै गरेपछि सक्षम भएकाले यसलाई निरन्तरता दिएको उहाँले उल्लेख गर्नुभयो ।

इलमका रुपमा गर्दै आएको कामले घर खर्च चलाउन सजिलो भएपनि मेहनत अनुसारको मूल्य नपाइने मगरको गुनासो छ । बुनेका थुन्से एउटाको रु एक सय बीससम्ममा बिक्री हुने गरेको छ । “निङ्गालो लेकमा जति पनि पाइन्छ तर यहाँसम्म ल्याउन सास्ती छ”, उहाँले भन्नुभयो ।

यहाँका किसानले थुन्सो, डोको, खर्पनलगायत सामग्री बुनेर बिक्री गरी जीविकोपार्जन गरिरहेका मगरले जानकारी दिनुभयो । श्रम अनुसार मूल्य नपाउनु, सीप अभाव र संरक्षण नहुँदा यहाँका युवा पुस्ताले रैथाने ज्ञान र सीपलाई निरन्तरता नदिई अन्य पेसा अङ्गाल्दै गएका उहाँको भनाइ छ ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले परम्परागत सीपलाई संरक्षण र सम्वर्द्धन गर्ने नीति पालिकाले बनाएको भन्दै कार्यान्वयन पक्ष फितालो रहेको बताउनुभयो । यहाँका युवाको सीप विकास गरी स्वरोजगारका अवसर सिर्जना गर्न स्थानीय सरकार योजनाबद्ध रुपमा अगाडि बढिरहेको उहाँको भनाइ छ ।

“पालिकाको उद्यम विकास शाखामार्फत परम्परागत सीप र रैथाने ज्ञानअन्तर्गत महिलालाई चकटी बुन्ने तालिक सञ्चालन गरिरहेको छ”, अध्यक्ष लामाले भन्नुभयो, “थुन्से तथा चोयाका सामग्री बुन्ने सीपसम्बन्धी तालिम भने दिन सकेका छैनौँ । विस्तारै जीविकोपार्जनसँग जोड्ने, सीप विकास, स्वरोजगारसम्बन्धी तालिम दिने योजनमा पालिका छ ।”

स्थानीय सरकारले परम्पारगत सीप र रैथाने ज्ञानलाई संरक्षण गर्दै व्यवस्थित बनाउने योजना लागू नगर्दा, नयाँ पुस्तामा हस्तान्तरण नहुँदा त्यस्ता ज्ञान, सीप र कला लोप हुने अवस्थामा पुगेका स्थानीय बासिन्दा बताउँछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार