श्रावण ३, २०८२ शनिबार July 19, 2025

सेयर बजारका समस्या समाधान गर्न सरकारले सार्थक प्रयास गरिरहेको छ : अर्थमन्त्री पौडेल

सेयर बजारको परिपक्व विकासका निम्ति ‘सेयर सूत्र’ पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सेयर बजारविज्ञ तथा विश्लेषक एवं लेखक रवीन्द्र भट्टराईको नयाँ पुस्तक ‘सेयर सूत्र’ सार्वजनिक गरिएको छ ।

बुकहिलले प्रकाशन गृहले आज काठमाडौँमा सार्वजनिक गरेको उक्त पुस्तकबारे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले भिडियो सन्देशमार्फत सेयर बजारको परिपक्व विकासका निम्ति ‘सेयर सूत्र’ पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने आफूले विश्वास लिएको बताउनुभयो । “सेयर बजारका समस्यालाई नीतिगत र व्यावहारिक रूपमा समाधान गर्दै परिपक्व ढङ्गले अगाडि बढाउनका निम्ति सरकारले सार्थक प्रयास गरिरहेको छ । सेयर बजारविज्ञ लेखक भट्टराईको पुस्तकले सेयरबारे अझै चेतना अभिवृद्धि गर्नेछ”, उहाँले भन्नुभयो ।

सट्टेबाजी नगरी सेयरबाट पैसा कमाउने वेञ्जामिन ग्राहमका एक सय वर्ष अघिका सूत्रलाई आधार बनाउँदै सेयरबाट धन सम्पत्ति बढाउने सूत्र र रणनीति यस पुस्तकमा प्रस्तुत भएका बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँले बजारमा लगानी गर्न चाहने तथा गरिरहेका सबैका लागि यी सूत्र उपयोगी हुन सक्ने बताउनुभयो । “आफ्नो जोखिम लिने क्षमता मूल्याङ्कन गरी सेयर बजारमा तनावमुक्त तरिकाबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने विभिन्न आधार सूत्रात्मक तबरले समेटिएको पुस्तक हो, सेयर सूत्र”, उहाँले भन्नुभयो ।

सेयर बजारबारे आधा दर्जन पुस्तक प्रकाशन गरिसकेका लेखक भट्टराईको यस पुस्तकको बजार मूल्य रु चार सय ९९ तोकिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया