न्युयोर्क, अमेरिका । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन न्युयोर्क आएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्थानीय समयअनुसार आइतबार साँझ ५ बजे ‘साइडलाइन’ भेटवार्ता गर्ने भएका छन् ।
भारतका प्रधानमन्त्री मोदीसँग ‘साइडलाइन’मा द्विपक्षीय भेटवार्ताका लागि लामो समयदेखि गृहकार्य भए पनि भारतीय पक्षबाट शुक्रबार मात्र सकारात्मक सन्देश प्राप्त भएको हो ।दुई प्रधानमन्त्रीबीच भेटवार्ता गराउन नेपाली पक्षले विभिन्न तहबाट पहल गरेको थियो । परराष्ट्रमन्त्री आरजु राणा देउवादेखि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा तथा नयाँदिल्लीस्थित नेपाली दूतावासलाई पनि परिचालन गरिएको थियो ।
प्रधानमन्त्री ओलीले ‘साइडलाइन’ भेटवार्ताको तयारीका लागि मन्त्री राणालाई नै निर्देशन दिएका थिए । ओली शुक्रबार राति न्युयोर्क उत्रनु केही घण्टाअघि मात्र भारतीय पक्षले द्विपक्षीय भेटवार्ताका लागि मोदी तयार रहेको सन्देश दिएको हो । ‘अन्यथा केही नभए भेटवार्ता हुने पक्का भयो,’ परराष्ट्रका एक अधिकारीले भने ।
भारतका प्रधानमन्त्री मोदी चार मुलुक (अमेरिका, भारत, जापान र अस्ट्रेलिया) को संगठन क्वाडको बैठकमा सहभागी हुन शुक्रबार नै अमेरिकाको विल्मिङटन आइसकेका छन् । उनी त्यहींबाट न्युयोर्क आउन लागेका हुन् । ओली चौथो पटक प्रधानमन्त्री भएपछि भारतीय समकक्षी मोदीसँग पहिलो भेटवार्ता हुन लागेको हो । यसअघि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनका दौरान ‘साइडलाइन’मा उनीहरूबीच भेटवार्ता हुने तय भएको थियो । तर भदौ १८ र १९ मा हुने भनिएको सम्मेलन थाइल्यान्डको नयाँ राजनीतिक उतारचढावका कारण स्थगित भयो ।
ओलीले पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा भारतबाट विदेश भ्रमण थालेका थिए । दोस्रो पटकको प्रधानमन्त्रित्वलगत्तै तेस्रो पटक नियुक्त भएपछि ओलीले तीन महिना मात्र सरकारको नेतृत्व गरेका थिए । त्यतिबेला उनले कुनै पनि मुलुकको भ्रमण गरेनन् ।
यस पटकको नियुक्तिपछि भने ओलीको विदेश भ्रमण न्युयोर्कमा आयोजित राष्ट्रसंघको महासभाबाटै थालनी भएको छ । ओलीलाई यस पटक भारतीय पक्षबाट औपचारिक भ्रमणको निमन्त्रणा पनि आएको छैन । ओलीले भने परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणका क्रममा मोदीलाई नेपाल भ्रमणको औपचारिक रूपमा निमन्त्रणा पठाएका थिए ।
२२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली युयोर्क आइपुगेका हुन् । परराष्ट्रका अनुसार प्रधानमन्त्री ओलीले ‘समिट अफ द फ्युचर’, ७९ औं महासभाको उच्चस्तरीय छलफल, ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ को उच्चस्तरीय सत्र र ‘सी लेभल राइज’ को उच्चस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
न्युयोर्कमै विभिन्न मुलुकका सांसदहरूलाई पेरिस सम्झौतासँग जोडिएर ‘फाइनान्सिङ द फ्युचर’ मा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले महासभालाई भने असोज १० मा सम्बोधन गर्नेछन् । उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायतसँग पनि भेटवार्ता गर्नेछन् ।कान्तिपुर दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया