श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि शेयर जस्तै किनबेच गर्न पाइने

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको व्याज अर्धवार्षिक रूपमा सोझै खरिदकर्ताको बैंक खातामा जम्मा गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यससँगै अब पुँजीबजारमा हुने शेयर कारोबार जस्तै बचतपत्र पनि खरिदबिक्री गर्न सकिने व्यवस्था कार्यान्वयनमा आएको हो ।

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार ‘ऋण सञ्चालन तथा व्यवस्थापन सफ्टवेयर (डोम्स)’ र इन्भेष्टर पोर्टलमार्फत् गर्न सकिने व्यवस्था कार्यविधिमा राखिएको छ । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सञ्चालनमा ल्याएको अनलाईन कारोबार प्रणाली जस्तै नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र वा अन्य खालका ऋणपत्रको निष्कासन तथा सञ्चालनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘डोम्स’ र ‘इन्भेष्टर पोर्टल’ कार्यान्वयनमा ल्याएको हो ।

सरकारले आन्तरिक ऋण उठाउनका लागि प्रयोग गर्ने अर्को उपकरण ‘ट्रेजरी बिल्स’ को दोस्रो बजार कारोबार पनि ‘डोम्स’ मार्फत् गर्न सकिनेछ तर विकास ऋणपत्रको दोस्रो बजार कारोबार भने निष्कासनपछि सूचीकरणका लागि नेप्सेमा पठाइने र नेप्सेमा सूचीकृत दलाल (ब्रोकर) कम्पनीमार्फत् कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

आन्तरिक ऋण उठाउनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले स्वीकृत गरेको वार्षिक कार्यतालिका तथा निष्कासन तालिकाअनुसार नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला, बन्द तथा निष्कासन गरिनेछ । गैरआवासीय नेपालीले पनि नागरिक बचतपत्र खरिद गर्न सक्नेछन् । “नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र खरिद गर्न चाहने व्यक्तिले पहिलोपटक इन्भेष्टर पोर्टलमा तोकिएको ढाँचामा विवरणहरू प्रविष्टि गरी रजिष्टर गरेर युजरनेम तथा पासकोड प्राप्त गर्न सक्नेछन्”, कार्यविधिमा भनिएको छ । यस्तो बचतपत्र निष्कासन गर्दा तोकिएको अवधिभित्र पहिलो निवेदकले पहिले पाउने प्रक्रियाबाट बाँडफाँट गरिने पनि कार्यविधिमा उल्लेख छ ।

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको व्याज अर्धवार्षिक रूपमा सोझै खरिदकर्ताको बैंक खातामा जम्मा गरिनेछ । कार्यविधिमा यस्ता बचतपत्रको लागि निर्धारित व्याजको हिसाब गर्दा तीस दिनको एक महिना र तीन सय ६० दिन बराबरको एक वर्ष मानी गणना गर्नुपर्ने व्यवस्था गरिएको छ । व्याज भुक्तानी हुने मितिको एक कार्यदिन अगाडिदेखि भने दोस्रो बजार कारोबारबाट बचतपत्रको स्वामित्व हस्तान्तरण गर्न पाइने छैन ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई सरकारी ऋणपत्र तथा बचतपत्रको कारोबारका लागि बजार निर्माताका रूपमा इजाजत दिइनेछ । यस्तै, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट जारी हुने बचतपत्रको बिक्री एजेन्टका रूपमा निश्चित प्रकृतिका कम्पनीलाई इजाजतपत्र दिन सकिने व्यवस्था पनि कार्यविधिमा राखिएको छ । “कार्यालयले बैंकबाट विप्रेषणको लागि इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स कम्पनी र मनी ट्रान्सफर कम्पनीले बिक्री एजेन्टका रूपमा कार्य गर्न चाहेमा इजाजत दिन सक्नेछ”, कार्यविधिमा भनिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार