असार २६, २०८२ बिहिबार July 10, 2025

एमालेले दान पाएको जग्गा कालु गुरुङदम्पतीका नाममा

एमालेलाई दानमा दिने घोषणा गरेको कीर्तिपुर नगरपालिका–२, मित्रनगरस्थित करिब पाँच रोपनी जग्गा कालुको रहेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ललितानिवासको सरकारी जग्गा हिनामिनामा विशेष अदालतबाट दोषी ठहर भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमालेको केन्द्रीय कार्यालय भवन बनाउन दान गरेको कीर्तिपुरको जग्गा घरजग्गा (रियल इस्टेट) कारोबारी कालु गुरुङको रहेको खुलेको छ । उनी १४ वर्षअघि पिरामिड शैलीको युनिटी लाइफ ठगी प्रकरणमा पक्राउ परेका थिए । यद्यपि, उनले जिल्ला अदालत ललितपुरबाट सफाइ पाइसकेका छन् ।

मीनबहादुरले केन्द्रीय कार्यालय निर्माण प्रयोजनार्थ एमालेलाई दानमा दिने घोषणा गरेको कीर्तिपुर नगरपालिका–२, मित्रनगरस्थित करिब पाँच रोपनी जग्गा कालुको हो । उक्त जग्गा अहिले रोड सो रियल इस्टेट प्रालिको नाममा छ । यो रियल इस्टेटको सेयरहोल्डर कालुसहित उनकी श्रीमती मीनाकुमारी गुरुङ र आफन्त सागर गुरुङ हुन् ।

मालपोत कार्यालय कलंकीका अनुसार कालुले कीर्तिपुर मित्रनगरको सिट नं. १०२–११४१–२४ को कित्ता नं. ७५, २५७, ३१३, २५८, ३१७ र ३११ को करिब पाँच रोपनी जग्गा बनबारीलाल साहसँग १८ कात्तिक ०७७ मा खरिद गरेका थिए । बनबारीलाल नेपाल प्रहरीका पूर्वहवल्दार हुन् । सेवाबाट अवकाशपछि उनी घरजग्गाको कारोबारमा लागेका थिए । बाराका स्थायी बासिन्दा बनबारीलालको अहिले मित्रनगरमै भव्य घर छ ।

त्यस्तै, २८० नं. कित्ता भने कालुले उदयश्वर श्रेष्ठबाट लिएका थिए । उदयश्वर कीर्तिपुरकै स्थानीय हुन् । कालुले सोही जग्गासँगै सिट नं. १०२–११४१–२५ को कित्ता नंं. ६९१ र ६७६ को जग्गा पनि लिएका छन् । ६९१ को जग्गा प्रमिला साह र ६७६ को जग्गा उनै बनबारीलालबाट खरिद गरेका थिए । प्रमिला बनबारीलालकै श्रीमती हुन् । मालपोत कार्यालय कलंकीका अनुसार उक्त सबै जग्गा अहिले कुमारी बैंकमा बन्धक छ । कालुले उक्त जग्गा तत्कालीन नेपाल क्रेडिट एन्ड कमर्स बैंक(एनसिसी)मा धितो राखी १२ करोड ३० लाख रुपैयाँ ऋण झिकेका थिए । एनसिसी पछि कुमारी बैंकमा मर्ज भएको थियो । कालुले उक्त ऋण अझै चुक्ता गरेका छैनन् ।

मालपोत कार्यालय कलंकी स्रोतले भन्यो, ‘एमालेको केन्द्रीय कार्यालय निर्माण प्रयोजनार्थ दिने भनिएको जग्गा रोड सो रियल स्टेटको नाममा छ । उक्त जग्गा हाल कुमारी बैंकमा बन्धक छ । रियल स्टेटको जग्गा बैंकमा राखेर कालु गुरुङले १२ करोड ३० लाख रुपैयाँ ऋण झिकेको देखिन्छ । त्यसो हुँदा उक्त जग्गा हाल रोक्का छ ।’

सोही जग्गा दान दिने घोषणापछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र मीनबहादुरले दसैँको अष्टमीको दिन २५ असोजमा संयुक्त रूपमा भवनको शिलान्यास गरेका छन् । एमालेले सार्वजनिक गरेको विज्ञप्तिअनुसार मीनबहादुरले भवन निर्माण प्रयोजनार्थ १० रोपनी १४ आना जग्गा दिएका छन् । कालु गुरुङको कम्पनीको नाममा रहेको पाँच रोपनी र बाँकी वरिपरिको जुटाएर उक्त क्षेत्रफल पुर्‍याउने प्रतिबद्धता मीनबहादुरको छ ।

स्थानीय श्रीनगर टोल सुधार समितिका अध्यक्ष भानु अर्यालले हाल मीनबहादुरले दिएको जग्गा १० रोपनी १४ आना नभएकाले केही गडबढ हुन सक्ने बताए । ‘अहिले यहाँको जग्गा चर्चामा छ । मीनबहादुरले एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिएको भनिएको छ । तर, अहिले यहाँ रहेको जग्गाको परिमाण त्यति पुग्नेजस्तो देखिँदैन । न त उक्त जग्गा मीनबहादुरको नै हो । जग्गाको छेउकुना पनि मिलेको छैन । यहाँ पक्कै पनि केही गडबढ हुन सक्ने हामीलाई आशंका छ ।’

मालपोत कार्यालय कलंकीका प्रमुख पूर्णबहादुर केसीले व्यवसायी मीनबहादुरले एमालेलाई दानमा दिएको भनिएको जग्गा अहिले पनि रोड सो रियल स्टेट प्रालिकै नाममा रहेको र उक्त जग्गा कुनै पनि पार्टीको नाममा नगएको बताए । ‘व्यवसायी मीनबहादुरले मित्रनगरको जग्गा एमालेलाई दिने चर्चापछि हामीलाई पनि चासो भयो । हामीले आन्तरिक रूपमा बुझ्यौँ । उक्त जग्गा हाल रोड सो रियल स्टेट प्रालिको नाममा रहेको देखिन्छ । कुनै राजनीतिक दलको नाममा उक्त जग्गा गएको देखिएको छैन ।’

पोखराका कालु र खोटाङका मीनबहादुर व्यावसायिक साझेदार हुन् । कालु अर्का रियल स्टेट व्यवसायी लालकाजी गुरुङसँग पनि निकट छन् । यी दुई पनि व्यावसायिक साझेदार हुन् । लालकाजी तिनै व्यक्ति हुन्, जो सिभिल सहकारी प्रकरणमा मुछिएका थिए । सुन्धारास्थित सिभिल मल उनै लालकाजीको हो । सिभिलको मुद्दा अझै अदालतमा विचाराधीन छ ।

पिरामिड शैलीमा सर्वसाधारणबाट रकम संकलन गरेको युनिटी लाइफबाट कालुले जग्गा कारोबारका लागि रकम लिएका थिए । तत्कालीन अनुसन्धानमा संलग्न नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीले युनिटीबाट घरजग्गा कारोबार गर्ने उद्देश्यले गुरुङले रकम लिएको र सोही क्रममा उनलाई पक्राउ गरिएको बताए । ‘युनिटीले सर्वसाधारणबाट पिरामिड शैलीमा रकम संकलन गरेको थियो । संकलित सोही रकम कालु गुरुङले पनि प्रयोग गरेको भेटियो । उनलाई हामीले पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याएका थियौँ ।’

युनिटीले गैरकानुनी रूपमा करिब ५ वर्षमा तीन लाख ६६ हजार ३३४ सदस्यबाट तीन अर्ब ७९ करोड संकलन गरेको थियो । त्यसवेला सिआइबीले युनिटीका ११२ अभियुक्तविरुद्ध १८ जेठ ०६७ मा १२ अर्ब ७५ करोड रुपैयाँ बिगोदाबी गर्दै जिल्ला अदालत ललितपुरमा ठगी कसुरमा मुद्दा चलाएको थियो । मुद्दा खेप्नेमा कालु पनि थिए । तर, उनी ११ असार ०६७ मा नौ करोड धरौटी तिरेर साधारण तारेखमा छुटेका थिए । पछि जिल्ला अदालत ललितपुरले १८ चैत ०७० मा कालुसहित १०० प्रतिवादीलाई सफाइ दिएको थियो भने युनिटीका अध्यक्ष काशीराज गुरुङसहित १२ जनालाई दोषी ठहर गरेको थियो । कालु हाल पोखरास्थित अन्नपूर्ण केबलकारको समेत मालिक हुन् । आजको नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार