असार २८, २०८२ शनिबार July 12, 2025

साफ महिला च्याम्पियनसिप: श्रीलङ्कालाई हराउदै भुटान अङ्कतालिकाको शीर्ष स्थानमा

समूह ‘बी’मा रहेको नेपालले आज माल्दिभ्ससँग खेल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रीलङ्कालाई हराउँदै भुटान साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह ‘बी’को अङ्कतालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भुटानले श्रीलङ्कालाई ४–१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको हो। जितसँगै भुटानले दुई खेलबाट चार अङ्क जोडेको छ। पहिलो खेलमा भुटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो।

आज खेल सुरुआती सातौं मिनेटमा भुटानकी डेकी ल्जोहामले गोल गर्दै पहिलो अग्रता दिलाइन। त्यस्तै खेलको २३औं मिनेटमा श्रीलङ्काकी  कप्तान थुशानी मधुशिकाले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याइन।

त्यसपछि खेलको ३२औँ मिनेटमा भुटानकी दोर्जी एडेनले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाइन। खेलको ७६औँ मिनेटमा डेकीले व्यक्तिगत दोस्रो गोल गर्दै भुटानलाई ३–१ को अग्रता दिलाइन्। डेकीले गोल गरे लगत्तै नामग्याल डेमाले गोल गर्दै भुटानलाई ४–१ गोलको जित दिलाइन।

समूह ‘बी’मा रहेको नेपालले आज माल्दिभ्ससँग खेल्दैछ। उक्त खेल साँझ ५ः३० बजे हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया