काठमाण्डौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिन माग गरेका छन् ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् ।
पार्टीभित्रको विवाद सुल्झाउने र साउन २ गते नेकपा स्थायी कमिटी बैठक शुरु गर्ने विषयमा सहमति जुटाउने प्रयासका लागि तीन शीर्ष नेताबीच आज छलफल भएको थियो ।
सोही छलफलमा अध्यक्ष दाहाल र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीलाई सुझाएका हुन् । बालुवाटार स्रोतका अनुसार ओलीले दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याएका छन् । दुवै समूहले आआफ्ना अडान कायम राखेपछि छलफल निष्कर्षविहीन भएको छ ।
आजको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । महासचिव पौडेलले छलफल भएपनि कुनै निष्कर्ष ननिस्केको बताएका छन् । साथै भोलि (शुक्रबार) बस्ने स्थायी कमिटी बैठक स्थगित नगर्ने सहमति पनि छलफलमा भएको छ ।
मंगलबार र बुधबार ओलीसँग भएको छलफलमा विवाद समाधानमा ठोस सहमति नभएपछि बिहीबार दाहालले नेपाललाई पनि छलफलका लागि लगेका थिए । दाहाल र नेपाल बालुवाटार जानुअघि दाहाल निवास खुमलटारमा ओली समूहका सचिवालयका ६ नेताको बैठक बसेको थियो ।
१० असारबाट जारी स्थायी कमिटी बैठकमा प्रचण्ड र नेपालले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् । प्रधानमन्त्री ओलीले कुनै पनि पद नछाड्ने अडान दोहो-यारहेका छन् ।
बुधबार दाहालसँगको छलफलमा पनि प्रधानमन्त्री ओलीको यही अडान थियो । बरु उनले चाँडो महाधिवेशन गरेर पार्टीको एकल नेतृत्व लिन आग्रह दाहाललाई प्रस्ताव गरेका थिए । तर, दाहाल–नेपाल समूह तत्काल ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने पक्षमा छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया