भद्रपुर (झापा), १८ साउनः झापामा आर्थिक वर्ष २०८२/८३ मा विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीमध्ये ६९६ जनामा ‘स्क्रब टाइफस’ सङ्क्रमण पुष्टि भएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक युवनाथ बरालका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकामा ५९८ जनामा सङ्क्रमण देखिएको हो ।
दमक नगरपालिकामा ४३, मेचीनगरमा २५, कमल गाउँपालिकामा १६, कन्काई नगरपालिकामा छ, हल्दिबारी गाउँपालिकामा पाँच, झापा गाउँपालिकामा दुई र भद्रपुर नगरपालिकामा एक जनामा सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । बरालका अनुसार स्क्रब टाइफस सङ्क्रमित माइट (किर्ना)को टोकाइबाट मानिसमा सर्ने रोग हो ।
“यसबाट ज्यानै जाने जोखिम हुन्छ । यो रोग लाग्दा उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, खोकी, वान्ता, पेट दुख्ने, पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या हुने तथा टोकेको स्थानमा कालो दाग देखिन सक्ने लक्षण देखापर्न सक्छन्”, उहाँले भन्नुभयो । उहाँले खेतबारी, झाडी वा वन क्षेत्रमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलम प्रयोग गर्ने तथा घर वरपरको वातावरण सफा राखी झाडी बढ्न नदिनेलगायत सावधानी अपनाउन सबैमा आग्रह गनुभयो ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य शाखाका अनुसार नेपालमा स्क्रब टाइफसका सङ्क्रमितको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया