असार २६, २०८२ बिहिबार July 10, 2025

बुद्धभूमि नगरपालिका: ६ वडामा पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा

बाकि ४ वडालाई पनि मापदण्ड पूरा गराएर पूर्ण संस्थागत प्रसूति सेवायुक्त बनाउँदै नगरलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कपिलवस्तु । बुद्धभूमिका ६ वटा वडा पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा भएका छन् । बुधवार एक कार्यक्रमका बिच वडा नं. १, २, ३, ४, ५ र ९ लाई पूर्व मन्त्री सुरेन्द्रराज आचार्यले पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरेका हुन् ।

घरमा प्रसूति गराउने सङ्ख्या शून्य गराएर पूर्ण संस्थागत प्रसूति सेवायुक्त सबै मापदण्ड पूरा गरेकाले ६ ओटा वडालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको नगर प्रमुख केशवकुमार श्रेष्ठले बताए । उनले आगामी वर्ष बाकि ४ वडालाई पनि मापदण्ड पूरा गराएर पूर्ण संस्थागत प्रसूति सेवायुक्त बनाउँदै नगरलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गर्ने बताए ।

स्वास्थ्य क्षेत्रमा बाल मृत्युदर र मातृ मृत्युदर रोक्दै पोषण कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको उनको भनाइ छ । यस उपलब्धिलाई दीर्घकालीन रूपमा कायम गर्न चुनौती रहेको बताउँदै उनले भने, ‘हामीहरूलाई यो उपलब्धिले थप जिम्मेवार बनाएको छ । यसलाई दिगोपना दिने विषयमा सबै एकबद्ध भएर लाग्नुपर्छ ।’ पालिकाले नगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिदैं आएको स्मरण गराउँदै उनले प्रसूतिको केशमा आवश्यकता अनुसार अटो रिक्सालाई एम्बुलेन्सको विकल्पको रूपमा प्रयोग गर्न सुझाए।

प्रसूतिका लागि घर देखि स्वास्थ्य चौकी सम्म अटो रिक्सा प्रयोग गरे बापत पालिकाले नै ५ सय रुपैयाँ दिने उनले जानकारी गराए । नगरप्रमुख श्रेष्ठले केही वडाहरूलाई बालमैत्री वडा घोषणा गर्ने प्रक्रियामा नगर अघि बढेको समेत जानकारी दिए ।

पूर्व मन्त्री समेत रहेका प्रतिनिधि सभा सांसद सुरेन्द्रराज आचार्यले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकाको अथक प्रयासले यो उपलब्धि हासिल भएको भन्दै खुसी व्यक्त गरे । उनले अब समग्र पालिका नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त भए मात्र यो कार्यक्रमले सार्थकता प्राप्त गर्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूलाई पालिकाले प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने बताउँदै तीनै तहका सरकारले स्वास्थ्यमा गरेको लगानी अझै बढाएर अघि बढ्न आवश्यक रहेको बताए ।

कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष र स्वास्थ्य चौकी इन्चार्जलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा भएको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार