काठमाण्डौंः राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आइतबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ अधिकारीहरूले बिदाइ गरेका छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् ।
राष्ट्रपति पौडेलले यही २७ र २८ कात्तिकमा हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई २७ कात्तिकमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन २८ कात्तिकमा राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ । सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ ।
विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये पर्छ । बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।
नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ । सम्मेलन यही २६ कात्तिकमा सुरु भई आगामी ७ मङ्सिरसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही ३० कात्तिकमा स्वदेश फर्कने कार्यक्रम छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया