असार २३, २०८२ सोमबार July 7, 2025

पूर्वीय दर्शन ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल

विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने बताउनुभएको छ।

ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमीको आइतबार नगरकोटमा उद्घाटन गर्दै उहाँले जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने बताउनुभयो।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ। आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेका छ। आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौँतारिरहेकाे यही कारण हो।’

उहाँले विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढ्दै गएका कारण  समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कँदै गएको बताउनुभएको छ।

राष्ट्रपति पौडेलले ब्रह्माकुमारीले चलाएको आध्यात्मिक जागरणको अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले ज्ञानसरोवर एकेडेमीमा बनेका चारधामसहितका तपस्या केन्द्रहरूले ज्ञान र योगका माध्यमबाट व्यक्ति र समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्ने बताउनुभयो। राष्ट्रपति पौडेलले यसबाट मानिसलाई आफूलाई संयम राख्दै सुखद जीवनयापनका लागि मद्दत पुग्ने बताउनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया