काठमाण्डौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यहि मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ । आज (आइतबार) पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले मंसिर ८ बाट दोस्रो चरणको आन्दोलन गर्ने जानकारी गराएका हुन् । आफ्ना मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समेत जानकारी गराउने प्रयास गरे पनि समय नदिएको नेता झाले पत्रकार सम्मेलनमा बताए।
राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने, फौजदारी कानुन संशोधन गर्नुपर्ने, सहकारी पीडितको बचत रकम फिर्ता गर्नुपर्ने तथा स्वायत्त सहकारी प्राधिकरण बनाउनुपर्ने, भ्रष्टाचार काण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने, गतिशील अर्थतन्त्रका लागि संरचनागत आर्थिक सुधार एक दर्जन ऐनको संशोधन गर्नुपर्ने, प्रवासी र गैरआवासीय नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्ने, संविधान परिमार्जनका लागि सर्वपक्षीय सम्मेलन आयोजना गर्नुपर्ने पनि रास्वपाको आन्दोलनको एजेण्डा रहेको छ ।
पत्रकार सम्मेलनमा पार्टीका नेताहरूले सभापति रवि लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न माग गरेका छन् । मागपत्रको दोस्रो बुँदामा सहकारी पीडित र मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने उल्लेख छ। यस्तै रास्वपाले उच्च ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया