असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्र बैङ्क वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन

असार मसान्तमा कूल विदेशी विनिमय सञ्चिति रू २० खर्ब ४१ अर्ब १० करोड बराबर कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष बुझाएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित एक औपचारिक कार्यक्रमबीच राष्ट्र बैंकले वार्षिक प्रतिवेदन बुझाएको हो ।

वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा चालु खाता रू दुई खर्ब २१ अर्ब ३४ करोडले र शोधनान्तर स्थिति रू पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । गत असार मसान्तमा कूल विदेशी विनिमय सञ्चिति रू २० खर्ब ४१ अर्ब १० करोड बराबर कायम भएको छ ।

विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । यो अवधिमा कायम रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षमा नेपाल सरकारको अन्य प्राप्तिसमेत गरी रू १० खर्ब ८२ अर्ब ७५ करोड राजस्व सङ्कलन भएको र कूल सरकारी खर्च रू १४ खर्ब आठ अर्ब दुई करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०÷८१ मा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको र संकुचित मुद्राप्रदाय एक दशमलव तीन प्रतिशतले घटेको छ । त्यसैगरी, कूल आन्तरिक कर्जा ६ दशमलव एक प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६ दशमलव एक प्रतिशतले बढेको छ । बैङ्क तथा वित्तीय संस्थाको निक्षेप १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव आठ प्रतिशतले बढेको छ ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा खुला बजार कारोबारका विभिन्न उपकरणमार्पmत कूल रू ४६ खर्ब ७३ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको छ भने कूल रू आठ खर्ब आठ अर्ब ७६ करोड तरलता प्रवाह गरिएको छ । समीक्षा वर्षमा रू एक अर्ब २० करोड स्थायी तरलता सुविधा उपयोग भएको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा बैङ्क तथा वित्तीय संस्थाको भारित औसत अन्तर बैङ्क दर तीन दशमलव ६२ प्रतिशत रहेको छ । राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या एक सय सात रहेको छ । यसमध्ये २० वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र एउटा विकास बैङ्क रहेका छन् । गत असार मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११ हजार पाँच सय ३० रहेको छ ।

गत आर्थिक वर्षमा वाणिज्य बैङ्कको कूल सम्पत्ति÷दायित्व १२ दशमलव नौ प्रतिशतले वृद्धि भई रू ७२ खर्ब २७ अर्ब ६० करोड, विकास बैङ्कको सात दशमलव नौ प्रतिशतले वृद्धि भई रू सात खर्ब १७ अर्ब र वित्त कम्पनीहरूको ११ दशमलव दुई प्रतिशतले वृद्धि भई रू एक खर्ब ६९ अर्ब ७२ करोड कायम भएको छ । त्यसैगरी, लघुवित्त वित्तीय संस्थाको कूल सम्पत्ति÷दायित्व एक दशमलव तीन प्रतिशतले घटेर रू पाँच खर्ब ५३ अर्ब ७३ करोड कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म रू दुई खर्ब ५७ अर्ब ७२ करोड कर्जा र रु १४ खर्ब ३० अर्ब ४६ करोड निक्षेप सुरक्षण गरेको छ ।

कर्जा सूचना केन्द्रबाट आर्थिक वर्ष २०८०/८१ मा २० वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी र ५७ लघुवित्त वित्तीय संस्थाले जम्मा ५८ लाख १५ हजार सात सय ३५ कर्जाको सूचना माग गरेका थिए । उक्त केन्द्रमा कालो सूचीमा सूचीकृत ऋणीहरूको सङ्ख्या ९४ हजार चार सय ७७ रहेको छ ।

गत असार मसान्तमा नेप्से सूचकाङ्क दुई हजार दुई सय ४० को विन्दुमा रहेको छ भने बजार पुँजीकरण रू ३५ खर्ब ५३ अर्ब ६८ करोड कायम भएको छ । बजार पुँजीकरणको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६२ दशमलव २९ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा उल्लिखित सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित व्यवस्था, लघुवित्त वित्तीय संस्थाको मर्जर र प्राप्तिलाई प्रोत्साहनसम्बन्धी व्यवस्था, राष्ट्रियस्तरका विकास बैंकले ‘क्यापिटल एडिक्युसी फ्रेमवर्क, २०१५’ अनुसार पुँजी कोष कायम गर्नुपर्ने व्यवस्था, बैङ्क तथा वित्तीय संस्थाबाट हुने लगानीसम्बन्धी व्यवस्था, तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने सम्बन्धी व्यवस्था र बैङ्क तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा÷सुविधा उपयोग गर्ने ऋणीहरूले अनिवार्यरुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैङ्क र वाणिज्य बैङ्क, विकास बैङ्क तथा वित्त कम्पनीको वासलातको आधारमा मौद्रिक सर्वेक्षण तयार गरी प्रकाशन गरिँदै आएकामा आर्थिक वर्ष २०८०/८१ देखि बीमा कम्पनीहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपाल पूर्वाधार बैङ्कसमेतलाई समेटी “वित्तीय क्षेत्र सर्वेक्षण” प्रकाशन गर्न सुरु गरिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, गत आर्थिक वर्षमा रू ७३ अर्ब ९९ करोड ९० लाख बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीको लागि निष्काशन गरिएका थिए । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा कूल रू ६ खर्ब ९० अर्ब १५ करोड बराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा छन् ।

गत आर्थिक वर्ष मा रू १० अर्ब २९ करोड बराबरको विदेशी लगानी र रू ५८ अर्ब ९६ करोड बराबरको विदेशी ऋणको लेखाङ्कन भएको राष्ट्र बैंकले जनाएको छ । प्रतिवेदनअनुसार विश्व आर्थिक वृद्धिदर सन् २०२४ र सन् २०२५ मा तीन दशमलव दुई प्रतिशत रहने प्रक्षेपण छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा २०२४ अक्टोबरमा प्रकाशित ‘वर्ल्ड इकोनोमिक आउटलुक’ अनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर तीन दशमलव छ प्रतिशत रहेकोमा सन् २०२३ मा तीन दशमलव तीन प्रतिशत रहेको छ ।

सन् २०२४ मा विकसित देशमा उपभोक्ता मुद्रास्फीति दुई दशमलव ६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा सात दशमलव नौ प्रतिशत रहने अनुमान छ । सन् २०२३ मा उपभोक्ता मुद्रास्फीति विकसित देशमा चार दशमलव छ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशमा आठ दशमलव एक प्रतिशत रहेको थियो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको कूल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा तीन दशमलव ५४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान छ । समीक्षा वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको उत्पादन तीन दशमलव ०५ प्रतिशतले र गैर–कृषि क्षेत्रको उत्पादन तीन दशमलव ७५ प्रतिशतले बढेको अनुमान छ ।

आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति २०८० साउन ७ गते सार्वजनिक गरिएको थियो । वार्षिक औसत उपभोक्ता मुद्रास्फीति छ दशमलव पाँच प्रतिशतभित्र कायम राख्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो । साथै न्यूनतम सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा औसत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति सात दशमलव ७४ प्रतिशत रहेको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा कूल वस्तु निर्यातमा तीन प्रतिशतले कमी आई रू एक खर्ब ५२ अर्ब ३८ करोड र कूल वस्तु आयातमा एक दशमलव दुई प्रतिशतले कमी आई रू १५ खर्ब ९२ अर्ब ९९ करोड छ ।

समीक्षा वर्षमा कूल वस्तु व्यापार घाटा एक प्रतिशतले घटेर रू १४ खर्ब ४० अर्ब ६० करोड रहेको छ । यो कूल गार्हस्थ्य उत्पादनको २५ दशमलव तीन प्रतिशत हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार