श्रावण ३, २०८२ शनिबार July 19, 2025

माओवादी नेतृत्वमा ऐतिहासिक कामहरू भएका छन् : अध्यक्ष दाहाल

तीनै पटक माओवादीले सरकारको नेतृत्व गर्दा जनताको पक्षमा काम गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको बताएका छन् ।

बुधबार गोरखामा पार्टीले गरेको एक कार्यक्रममा उनले संविधान कार्यान्वयनसँगै देशमा सुशासन, उज्यालो नेपाल निर्माणलगायत महत्त्वपूर्ण काम माओवादीको नेतृत्वमा सम्भव भएको बताए ।

अध्यक्ष दाहालले भने, ‘एउटा ठूलो अन्धकारबाट उज्यालोतिर देशलाई लैजाने काम हामीले गर्‍यौँ, त्यो माओवादीले गरेको एक ऐतिहासिक काम हो ।’ उनले १८ घण्टासम्म लामो लोडसेडिङबाट जनता आजित भएका बेला तत्कालीन माओवादी नेतृत्वको सरकारले गरेको लिएको नीति र प्राधिकरणमा सही नेतृत्वलाई जिम्मेवारी दिएका कारण देश लोडसेडिङबाट मुक्त भएको बताए ।

अध्यक्ष दाहालले माओवादीले गरेका राम्रा कामलाई जनताका बीचमा पुर्‍याउन हिचकिचाउन नहुने भन्दै तीनै पटक माओवादीले सरकारको नेतृत्व गर्दा जनताको पक्षमा काम गरेको दाबी गरे । ‘पहिलोपटक सरकारको नेतृत्वमा रहँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव गर्‍यौँ’, उनले भने, ‘त्यो अहिले सम्पन्न हुने अवस्थामा छ, यो माओवादीको देन हो, त्यसैपटक ३० हजारभन्दा कम ऋण हुने किसानको ऋण मुक्त गर्ने काम पनि हामीले गर्‍यौँ ।’

तेस्रो पटक सरकार रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध इतिहासमै पहिलोपटक रेर्कड हुने किसिमले भ्रष्टाचारीमाथि कारबाही प्रक्रिया माओवादीको नेतृत्वको सरकारले गरेको अध्यक्ष दाहालले दाबी गरे । उनले भने, ‘सामाजिक न्याय चाहे नागरिकताको विषय होस्, चाहे मिटरब्याजीको समस्या समाधानको विषय होस्, चाहे सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका नेपाली युवाहरू र देशभित्रका पनि श्रमिकलाई आबद्ध गर्ने कुरा होस् त्यो हाम्रो नेतृत्वको सरकारले गर्‍यो ।’ रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया