काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शास्वत मूल्य, मान्यता र पवित्रतालाई धुमिल बनाउन दिनु नहुने बताएका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित ‘नेपालका निधि’ पुस्तक विमोचन कार्यक्रममा बुधबार राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा गर्न शासन व्यवस्थालाई पारदर्शी, जवाफदेही, न्यायपूर्ण बनाउनुपर्ने बताएका हुन् ।
राष्ट्रपति पौडेलले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न शासन व्यवस्थालाई पारदर्शी, जवाफदेही, न्यायपूर्ण बनाउँदै समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा हामी सबै जुट्नुपर्ने अहिलेको आवश्यकता हो । सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शास्वत मूल्य, मान्यता र पवित्रतालाई धुमिल बनाउन दिनुहुँदैन ।’
राष्ट्रपति पौडेलले समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका थिए । पछाडि परेका नागरिक, क्षेत्र र वर्गको हित तथा नागरिकको जीवनस्तरमा सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भनेर जनतालाई भरोसा जागृत गराउनु नै सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रको वास्तविक लक्ष्य भएको उल्लेख उनको भनाइ थियो ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न जनताको स्वतन्त्रताका लागि नेताहरूले गरेको त्याग, संघर्ष र समर्पण अतुलनीय छ । नेपाली जनता र अग्रज नेताहरूको ठूलो त्याग, बलिदान र संघर्षबाट हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौँ,’ राष्ट्रपति पौडेलले भने, ‘पछाडि परेका नागरिक, क्षेत्र र वर्गको हित तथा नागरिकको जीवनस्तरमा सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भनेर जनतालाई भरोसा जागृत गराउनु नै सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रको वास्तविक लक्ष्य हो ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया