असार २६, २०८२ बिहिबार July 10, 2025

नेपाल प्रिमियर लिग : सुपर ओभरमा पोखराद्वारा विराटनगर पराजित

आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपर ओभरमा १३ रनले पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले जितका लागि दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । एनपिएलमा यो पहिलो सुपर ओभर खेल हो ।

सुपर ओभरमा पोखराले पहिले ब्याटिङ गरेको थियो । विराटनगरका कप्तान सन्दीप लामिछाने बलिङमा आउनु भएको थियो । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गर्दा तेस्रो बलमा सन्दीपले डट राखे । चौथो बलमा राइफरले चौका प्रहार गर्नुभयो । पाँचौँ र अन्तिम बलमा सन्दीपले एक/एक रन खर्चिनुभयो । समग्रमा विराटनगरले १९ रनको लक्ष्य पाएको थियो ।

विराटनगरका मार्टिन गप्टिल र निकोलस किर्तन मैदान उत्रिनुभयो  । पोखराले बलिङमा पुन रेमन राइफरलाई ल्याएको थियो । पहिलो बलमा मार्टिन गप्टिलले एक रन बनाउनुभयो । दोस्रो र तेस्रो बलमा किर्तनले एक/एक रन लिनुभयो । चौथो बलमा किर्तनले डट बल खेले सँगै पाँचौँ बलमा एक रन लिनुभयो । पाँचौँ बल रेमनले वाइड दिनुभयो र अन्तिम बल डट राख्दै पोखराले विराटनगरमाथि सुपर ओभरमा १३ रनको जित निकालेको हो ।

त्यसअघि एक सय ४० रनको लक्ष्य पछ्याएको पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३९ रन जोड्नुभयो  । त्यस्तै रेमन राइफरले ३४ रन जोड्नुभयो । कप्तान कुशल भुर्तेलले ३१ रन जोड्दा दिनेश खरेल र मिचेल लिस्कले समान ११/११ रन बनाउन सफल हुनुभयो ।

विराटनगरका लागि प्रतिस जिशीले चार विकेट लिँदा  क्रिस सोलले दुई विकेट लिनुभयो  । टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३९ रनको योगफल बनाएको हो । विराटनगरका लागि स्कट एड्वार्डसले सर्वाधिक ४५ रन बनाउनुभयो । उहाँले  ३५ बलमा ५ चौका प्रहार गर्नुभएको थियो । । त्यसैगरी लोकेस बमले २६ रन बनाउँदा बासिर अहमदले २१ रन जोड्नुभयो । निकोलस किर्तनले १९ रन, क्रिस सोलले सात र मार्टिन गप्टिलले पाँच रन बनाउनुभयो ।

पोखराका लागि सागर ढकाल र रेमन रिफरले समान दुई/दुई विकेट लिए भने कप्तान कुशल भुर्तेल र दिनेश खरेलले समान एक/एक विकेट झार्नुभयो । आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया