कार्तिक २५, २०८३ बुधबार November 11, 2026

व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी

व्यवसाय सञ्चालन गर्न भारत र नवलपरासीबाट गाई खरिद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रामपुर (पाल्पा) I रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आउनुभएको छ ।

उहाँले गाउँमा कृषिकर्मबाट स्वरोजगार बन्ने लक्ष्यसहित दुई वर्ष अघि व्यावसायिक गाईपालन सुरु गर्नुभएको हो ।

ढुङ्गानाले फार्ममा अहिले ११ वटा उन्नत जातका गाई र तीनवटा भैँसी रहेका बताउँदै सात वटा गाई दुहुना रहेका जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक ५० लिटर दूध उत्पादन भइरहेको छ ।

“घरमा पहिलेदेखि चार-पाँचवटा गाई नियमित रूपमा पालिन्थ्यो, दुई वर्ष यता भने व्यावसायिक रूपमा ‘रामपुर फार्म’ दर्ता गरी गाईभैँसी थपेर व्यवसाय विस्तार गरेको हुँ”, ढुङ्गानाले भन्नुभयो, “आगामी दिनमा पशुचौपाया थप गरेर फार्म आधुनिक बनाउने योजना छ, अहिले संरचना थप्ने कार्य हुँदैछ ।”

फार्मको रेखदेख, घाँस व्यवस्थापनलगायत कामका लागि तीन जना कामदार राखेर रोजगारीसमेत दिइरहेको ढुङ्गानाले बताउनुभयो । वार्षिक रूपमा सरदरमा रु १२ लाख आम्दानी हुने गरेको बताउँदै उहाँले व्यवसाय सञ्चालन गर्न भारत र नवलपरासीबाट गाई खरिद गरेर ल्याएको जानकारी दिनुभयो ।

ढुङ्गानाले फार्ममा अहिले होलस्टिन, जर्सी जातका गाई रहेका बताउनुभयो । घाँस व्यवस्थापनका लागि तीस रोपनी जग्गा भाडामा लिएको भन्दै उहाँले करिब २१ रोपनी जग्गामा स्टाइलो, नेपियर जातका घाँस लगाएको उल्लेख गर्नुभयो ।

ढुङ्गानाका अनुसार एकवटा गाईलाई रु ७३ हजारदेखि रु एक लाख ३० हजार मूल्य परेको छ । गाई खरिद र फार्म व्यवस्थापनमा करिब रु ३८ लाख लगानी परेको बताउँदै उहाँले पाँचवटा लैनो गाई थप्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

पशुपालनमा पर्याप्त घाँसपातको व्यवस्था नहुँदा चुनौती थपिएको ढुङ्गानाले बताउनुभयो । पशुका लागि घाँसपात प्रशस्त आवश्यक पर्ने भएकाले घाँसपात व्यवस्थापनमा लगानी बढी खर्चिनुपरेको उहाँको अनुभव छ । उहाँले विज्ञान र ज्योतिषशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । एमफिलको तयारीमा रहनुभएका ढुङ्गाना गाउँमा बसेर केही उद्यम गर्ने लक्ष्य रहेकाले व्यावसायिक पशुपालनमा लाग्नुभएको हो ।

“कसैको अधिनमा नरहेर व्यवसाय गर्ने मनसायले पशुपालन थालनी गरेको हुँ, यसबाट जीविकोपार्जन गर्न सकिने, आम्दानी पनि हुने र स्थानीयलाई रोजगारी पनि दिन सकिन्छ । घाँसपात व्यवस्थापन मिलाउन सकियो भने आम्दानी मनग्ये हुने रहेछ”, उहाँले भन्नुभयो ।

रामपुरको बेझाड बजारमा दूध बिक्री गर्दै आएको बताउने ढुङ्गानाले भन्नुभयो, “पढेर जागिर खानुपर्छ भन्ने छैन, घरमा बसेर विभिन्न व्यवसाय गरेर जीविकोपार्जन गर्न सकिन्छ, स्वरोजगार बनेर उदाहरणीय काम गर्न सकिन्छ ।”

पछिल्लो समय गाउँघरमा पशुपालनमा युवाको आकर्षण बढेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताउनुभयो । नगरपालिकाले युवा स्वरोजगार कार्यक्रममार्फत प्रोत्साहनमूलक कार्यक्रम गरिरहेकाले व्यावसायिक रूपमा कृषि, पशुपालन तथा विभिन्न पेसा गर्ने युवाको उत्साह बढेको उहाँले उल्लेख गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार