काठमाण्डाैंः मन्त्रिपरिषद्को बैठकले विभिन्न पदमा नियुक्ती गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डिआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ ।
यसैगरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदमा पुनः रमेशकुमार सिलवाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले सिलवाललाई चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरेको हो । नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि स्वत खारेज भएको सदस्य सचिवको पदमा पहिलो पटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त भएका हुन् ।
सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सञ्चार मन्त्रालयद्वारा सिफारिस गरिएका तीन जनामध्ये केसीलाई निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।
खुला प्रतिस्पर्धामार्फत गरिएको छनोटबाट कार्यकारी निर्देशक नियुक्त केसी रेडियो नेपालकै नायव कार्यकारी निर्देशक पदमा कार्यरत रहेका थिए । रेडियो नेपालको इतिहासमा पहिलो पटक कार्यरत कर्मचारीबाटै कार्यकारी निर्देशक बन्न सफल केसी व्यवसायिक कर्मचारीका रुपमा चिनिन्छन् ।
सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। वरिष्ठ सहसचिव मरासिनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। प्रदेश नं ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मरासिनीलाई सचिव बनाउने निर्णय गरेको हो । बढुवा सिफारिस समितिले चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र मरासिनी गरी तीन जनाको नाम सिफारिस गरेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया