असार २८, २०८२ शनिबार July 12, 2025

प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भए : प्रवक्ता सापकोटा

अध्यादेशको बलमा शासन चलाउने कामले वर्तमान प्रधानमन्त्री संसद विघटन गर्न उद्दत भएको आरोप लगाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान प्रधानमन्त्री संसद विघटन गर्न उद्दत भएको आरोप लगाएका छन्।

आइतबार काठमाडौंमा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशन उद्घाटन गर्दै सापकोटाले अध्यादेशको बलमा शासन चलाउने कामले वर्तमान प्रधानमन्त्री संसद विघटन गर्न उद्दत भएको आरोप लगाएका हुन्।

उनले प्रधानमन्त्री केपी ओलीलाई संसद बिघटन गरेर निर्वाचनमा गए आफूले बहुमत ल्याउँछु भन्ने लागेको तर्क गरे। सरकारकै कारण २३ दिनसम्म संसद कामबिहीन भएको उनले बताए। सापकोटाले अध्यादेशबाट शासन चलाउने सरकारको जमर्को पुरै असफल भएको र सरकार अध्यादेशको पासोमा परेको दाबी गरे।

उनले मुलुकलाई सुशासनतर्फ अघि बढाउनेलाई सरकारले लखेटिरहेको बताए। उपाध्यक्ष सापकोटाले संविधान संशोधनका नाममा काग्रेसलाई समेत भ्रममा पारेर एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गरेको तर्क गरे।

वर्तमान सरकारबाट जनताको विश्वास पूर्णरुपमा गुमिसकेको उनको भनाइ छ । सापकोटाले प्रतिगमनको खतराबिरुद्ध खवरदारी गर्दै संविधानको रक्षा गर्न माओवादीले फागुन १२ गते झापाबाट जनतासँग माओवादी अभियान सुरु गर्न लागेको जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया