काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको वार्ता ठोस परिणाम दिन असमर्थ भएपछि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ वार्ताको वातावरण बनाउन प्रयासरत देखिएका छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेताहरूले बुधबार आफूनिकट पत्रकारसँग बेग्लै अन्तरक्रिया गर्नुभएपछि केही असहज भएका बेला नेम्बाङ सक्रिय हुनुभएको हो ।
आज बिहीबार बिहानका लागि दुई अध्यक्षबीच तय गरिएको वार्ता हुन नसकेपछि अध्यक्ष प्रचण्डले नै स्थायी कमिटी सदस्य नेम्बाङलाई खुमलटार बोलाउनुभएको बुझिएको छ । दुई अध्यक्षबीचको तिक्तता अन्त्य हुन नसकेपछि नेता नेम्बाङ सकारात्मक वातावरण तयार गर्न प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट कुरा गर्न प्रचण्ड निवास पुग्नुभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
अध्यक्ष प्रचण्डको प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार अध्यक्ष प्रचण्ड र नेम्बाङबीच करिब एक घण्टा छलफल भएको छ । भेटमा दुई अध्यक्षबीचको वार्ता र संवादको निरन्तरताका लागि नेता नेम्बाङले अध्यक्ष प्रचण्डसँग आग्रह गर्नुभएको छ । बुधबार गरिएको पत्रकारसँगको अन्तरक्रियाका बारेमा समेत उहाँले अध्यक्ष प्रचण्डसँग चासो राख्नुभएको बुझिएको छ । दुई अध्यक्षबीचको विमति संवाद र वार्ताबाटै समाधान हुने बताउँदै आउनुभएको नेता नेम्बाङले खुमलटार पुगेर त्यही आग्रह दोहोर्याउनुभएको छ ।
पार्टीभित्र विमति रहेको सबैलाई जानकारी भएपनि त्यसको समाधानमा दुई अध्यक्ष नै जिम्मेवार बन्नुपर्ने भनाइ उहाँको छ । ‘वार्ता र संवाद नै समस्या समाधानको एकमात्र विकल्प हो’ नेम्बाङले भन्नुभयो, “दुई अध्यक्षबीचको वार्ता र संवादको वातावरण बिगार्ने भूमिका कसैले खेल्नु हुँदैन ।”
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया