असार २५, २०८२ बुधबार July 9, 2025

कोभिड-१९ सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वमहामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलमा आयोजित प्रेस मिटमा काठमाडौँ उपत्यकाको टोखा, विराटनगर र वीरगञ्जमा एक एक गरी तीन जनाको मृत्यु भएको जनाईएको छ । यसअघि शुक्रबार पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमित पाँचजनाको मृत्युको पुष्टि भएको थियो।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङकाे क्रममा तीनै जनाको शुक्रबार नै निधन भएको जनाएको हो । मृत्यु हुनेमा टोखा–६ घर भएकी ४१ वर्षीय महिलाको पाटन अस्पतालमा शुक्रबार निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित उहाँ सघन उपचार कक्षमा राखेर उपचाररत रहँदा शुक्रबार बिहान निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

त्यसैगरी, वीरगञ्ज महानगरपालिका–३, छपकैया बस्ने ७४ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मधुमेह र दम रोगबाट पीडित उहाँको श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्रबार अपरान्ह उहाँको निधन भएको हो ।

मन्त्रालयले शुक्रबार नै विराटनगरको कोशी अस्पतालमा उपचाररत एकजना ५८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जनाएको छ । उच्च रक्तचाप र निमोनिया भएर सप्तकोशी अस्पतालमा भर्ना भएका पुरुषलाई श्वास लिन कठिनाइ भएपछि कोशी अस्पताल, विराटनगरमा थप उपचारका लागि पठाइएकोमा शुक्रबार उपचारकै क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. पाण्डेले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया