काठमाडौंः विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंका दुई जना, बाँकेका एकजना र पर्साका एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे ।
बाँके कोहलपुर नगरपालिका -२ बस्ने ७० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा साउन २५ गते ३ः१० बजे निधन भएको हो । उनी साउन २३ गते नेपालगन्ज कलेजमा भर्ना भएकी थिइन् । उनमा उच्च रक्तचापको समस्या थियो । त्यसैगरी पर्साको बेदियानी गाउँपालिका–१५ बस्ने ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी कोभिड अस्थायी अस्पतालमा निधन भएको छ ।
काठमाडौं महानगरपालिका मध्य बानेश्वर बस्ने ७६ वर्षीय पुरुषको साउन २६ गते बिहान १०ः१५ बजे निधन भएको छ । उनको मेडिकेयर अस्पतालमा निधन भएको हो । काठमाडौंको कीर्तिपुर नगरपालिका ट्यांलाफाँट बस्ने ७७ वर्षीय पुरुषको साउन २६ गते निधन भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । यसअघि आइतबार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
मन्त्रालयले नीजि, सामुदायिक, सरकारी र गैर सरकारी अस्पतालले २० प्रतिशत बेड कोभिड विरामीहरुको लागि छुट्याएर सम्बन्धित हब अस्पताललाई सूचना गर्न निर्देशन पनि दिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया