असार २३, २०८२ सोमबार July 7, 2025

पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री

पाणिनिले शिव, ऋषि, पतञ्जलि, र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन गर्दै पाणिनिको जन्मस्थल अर्घाखाँची विश्वव्यापी रुपमा ज्ञानको सुरुआत भएको पुण्यभूमि रहेको बताउनुभयो ।

“विश्वव्यापी रुपमा स्थापित व्याकरणका पिता महर्षि पाणिनिको जन्मभूमि रहेको यो स्थान पवित्र छ, पुण्य छ, देवभूमि हो, यहाँबाटै ज्ञानको सुरुआत भएको हो । अरु सबै व्याकरणहरुमा पाणिनिको सूत्रलाई आधार मानिएको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुआतसँगै सङ्गीत र लयको विकास भएको हो ।”

उहाँले पाणिनिको योगदान असाधारण रहेको चर्चा गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको तीन हजार नौ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पाणिनिले मात्र नभई शिव, ऋषि, पतञ्जलि, र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिको समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीयस्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले आजभन्दा करिब २५ सय वर्ष पहिले पाणिनि ऋषिले तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको यस पुण्यभूमिको विकासमा नेपाल सरकारले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसैक्रममा सम्मेलन उद्घाटन गर्न आएको स्पष्ट गर्नुभयो ।

दुईदिने सो सम्मेलनमा लुुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारी र पुष्पा भुसाल तथा लुम्बिनी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने, धर्म गुरु तथा संस्कृत भाषाका विद्वान् ज्ञानानन्द सरस्वतीलगायत भाषाविद्हरुको उपस्थिति रहेको छ ।

लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनि गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा सम्मेलन भएको हो ।

अर्घाखाँचीको पूर्वी सिमानामा रहेको पाणिनि क्षेत्रबाट उत्तरतर्फ हिमशृङ्खला, दक्षिणतर्फ तराईका फाँटसहित भारतीय भूमि गोरखपुरसम्म देख्न पाइन्छ । गुराँसका रुखहरु तथा विभिन्न जडीबुटी पाइने यस क्षेत्र प्राकृतिक रुपमा सुन्दर देखिन्छ ।

पाल्पा जिल्लाको तीनधारेबाट केही मिनेट उकालो हिँडेपछि अर्घाखाँचीको पाणिनि क्षेत्र पुग्न सकिन्छ भने अहिले पक्की सडकबाटेको सुविधा समेत रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार