असार २४, २०८२ मंगलबार July 8, 2025

राति रिसोर्ट, बिहान अस्पताल : कहाँ लडे ‘प्रचण्ड’ ?

आजका लागि तय भएको सुदूरपश्चिमका सांसदहरूसँगको भेटघाट कार्यक्रम रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एक अनौठो घटनाले नेपाली राजनीतिक वृत्तमा चासोको विषय बनाएको छ। मंगलबार राति ललितपुरको विलासी टेरेस रिसोर्टमा रात बिताएका प्रचण्ड मध्यराति लडेर घाइते भएको खबर आएसँगै उनको स्वास्थ्यभन्दा बढी घटनास्थलबारे चर्चा भइरहेको छ।

स्रोतहरूका अनुसार प्रचण्ड आफ्ना छोरी–ज्वाइँसहित एक वैवाहिक कार्यक्रममा सहभागी हुन टेरेस रिसोर्ट पुगेका थिए। यहीं उनले रात बिताएका थिए। तर, राति बाथरुममा लडेर टाउकोमा चोट लागेपछि उनलाई तत्कालनै ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा उनको टाउकोमा टाँका लगाइएको छ।

सोमबार राति मदिरासहितको पारिवारिक रमाइलोमा सहभागी भएका प्रचण्ड बिहान नहुँदै लडेका हुन् भन्ने रिपोर्ट आइरहँदा यस घटनाले राजनीतिक तहमा समेत लहर उत्पन्न गराएको छ।

तर घटनास्थलबारे दुविधा थप्ने कुरा भने माओवादी केन्द्रकै प्रेस सल्लाहकार गोविन्द आचार्यबाट आएको छ। उनले “प्रचण्ड घरमै लडेका हुन्” भन्दै सञ्चारमाध्यमहरूलाई प्रतिक्रिया दिएका छन्। यससँगै घटनालाई ढाकछोप गर्ने प्रयास गरिएको हो कि भन्ने प्रश्न उब्जिएको छ।

प्रचण्डकी छोरी गंगा दाहालले भने सामाजिक सञ्जालमार्फत बुवा बाथरुममा लडेको जनाएकी छन्, तर स्थान खुलाएकी छैनन्। यसैबीच टेरेस रिसोर्टको नाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणीहरू आउन थालेका छन्।

टेरेस रिसोर्ट राजधानीको एक महँगो र भब्य रिसोर्ट मानिन्छ, जहाँ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले समेत २०७९ को आम निर्वाचनअघि घोषणापत्र तयारी गरेको उल्लेखनीय प्रसङ्ग छ।

अहिले प्रचण्ड खुमलटारस्थित निवासमै विश्राममा छन्। तर आजका लागि तय भएको सुदूरपश्चिमका सांसदहरूसँगको भेटघाट कार्यक्रम रद्द गरिएको छ।

यो घटनाले केवल स्वास्थ्यसम्बन्धी चिन्ता मात्र होइन, सार्वजनिक जीवनमा रहेका नेताहरूको पारदर्शिता र जवाफदेहिताबारे पनि प्रश्न उठाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया